ओखलढुंगाको चम्पादेवी गाउँपालिकाको घोराखोरीमा इलाका प्रशासन कार्यालय स्थापनाको प्रक्रिया छिटो अघि बढाउन पूर्वसांसद रामहरि खतिवडाले गृह मन्त्रालयलाई आग्रह गरेका छन् । यसअघि मन्त्रीपरिषद्ले देशभरका २३ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरिसकेको भए पनि कार्यान्वयन ढिलो हुँदा स्थानीय सेवा–सुविधामा असर परेको भन्दै उनले ध्यानाकर्षण गराएका हुन् ।
पूर्वसांसद खतिवडाले गृह मन्त्री ओमप्रकाश अर्याल र गृह सचिव रामेश्वर दंगालसँग विशेष भेटवार्ता गर्दै निर्णय तत्काल कार्यान्वयनमा ल्याउन पहल गर्न अनुरोध गरे । आसन्न निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले निर्वाचमा जाने निर्णय गरिसकेको उल्लेख गर्दै उनले देशभर शान्ति–सुरक्षा मजबुत बनाउन सरकार जिम्मेवारीपूर्वक अघि बढ्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेस केन्द्रीय सदस्य खतिवडाका अनुसार केही समूहहरू गाउँ–गाउँमा गएर नागरिकलाई डर–धम्की दिने, त्रास फैलाउने तथा अवाञ्छित गतिविधि बढिरहेको छ, जसले निर्वाचन प्रक्रियामा नकारात्मक प्रभाव पार्न सक्छ । यस्तो स्थिति रोक्न गृह मन्त्रालयले तत्काल कडाइका साथ प्रभावकारी कदम चाल्नुपर्ने माग उनले राखे ।
मन्त्रीस्तरीय निर्णयअनुसार घोराखोरीमा इलाका प्रशासन कार्यालय स्थापना भए स्थानीय सेवा–सुविधा सहज हुने र सुरक्षा संरचना अझ सुदृढ बन्ने विश्वास खतिवडाले व्यक्त गरेको भेटमा सहभागी एक अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया