ओखलढुंगा एमालेको जिल्ला कमिटीले १६ महिनासम्म पूर्णता पाएन

भिजन समाचार
1k
Shares

नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीले अधिवेशन सम्पन्न भएको १६ महिनामा पनि पूर्णता पाएको छैन । विद्यानत ३ वर्षे कार्यकालका लागि निर्वाचित भएको नेतृत्वले करिब आधा कार्यकाल सकिन लाग्दा पनि जिल्ला कमिटीलाई पूर्णता दिन नसकेको हो ।

२०८१ चैत्र २६ र २७ गते जिल्ला दशौं अधिवेशन सम्पन्न भएको थियो । उक्त अधिवेशनबाट भूगोलबाट प्रतिनिधित्व गर्ने जिल्ला कमिटी सदस्यहरू निर्विराेध र ज्ञानबहादुर खड्का (जिवी) को अध्यक्षतामा पदाधिकारीसहित सबै पदमा मतदानबाटै निर्वाचित भएका थिए ।

एमालेमा ८९ जनाको जिल्ला कमिटी अधिवेशनबाट गठन हुने र १० जना मनोनित गरेर ९९ जनाको जिल्ला कमिटी बनाउने विद्यानतः व्यवस्था र विगतको अभ्यास छ ।

ओखलढुंगा एमालेमा हाल ८८ सदस्यको जिल्ला कमिटी छ । १ खुला महिला पदमा अधिवेशन हुँदा सुनकोशी गाउँपालिकाबाट उम्मेदवारी नपरेपछि खाली छ । त्यसबाहेक अन्य १० जना जिल्ला कमिटी सदस्य मनोनित गरेर कमिटीलाई पूर्णता दिनुपर्नेमा हालसम्म एमालेले मनोनितको निर्णय गर्न सकेको छैन । योग्यता र क्षमताका आधारमा छुटेका र अन्य पार्टीबाट प्रवेश गरेका नेतालाई नेतृत्वमा ल्याउने एमालेको विगतमा अभ्यास थियो ।

जिल्ला कमिटीलाई पूर्णता नदिएपनि सचिवालयले भने गठन गरिसकिएको छ ।

जिल्ला कमिटीलाई पूर्णता दिने विषयमा नेतृत्वले छलफल नै चलाएको छैन ।

यसबिचमा विभिन्न मितिमा, पदाधिकारी, सचिवालय र जिल्ला कमिटी बैठकहरु सम्पन्न भएपनि ति बैठकमा मनोनितको प्रस्ताव गरिएको छैन ।

मानेभञ्ज्याङ र मोलुङ गाउँपालिकाको पालिका अधिवेशन समेत तोकिएको मितिभन्दा निकै पछि सम्पन्न गरिएको थियो ।

जिवी खड्का नेतृत्वले समयमा पार्टीका सांगठानिक काम गर्न नसकेको आरोप लाग्न थालेको छ ।

जिल्ला कमिटीलाई पूर्णता दिन नसकेको, समयमा पालिका अधिवेशन नसक्नु, पार्टीका केन्द्रीय अभियानहरु प्रभावकारी बनाउन नसकेको र पार्टीको नीति विचार र सिद्धान्त लिएर जनताका बीचमा निरन्तर जान नसकेको जस्ता आरोप एमाले नेतृत्वलाई कार्यकर्ताले लगाउन थालेका छन् ।

यो समाचार तयार पार्नेक्रममा प्रतिक्रिया लिन भिजनले एमाले अध्यक्ष जिवी खड्कालाई पटक पटक सम्पर्क गर्दा उनको फोन उठेन ।

यस विषयमा नेकपा एमाले जिल्ला कमिटी सचिव अशोक थापाले भने पार्टीको आन्तरिक समस्याका कारण सहमति जुटाउन नसक्दा जिल्ला कमिटीलाई हालसम्म पूर्णता दिन नसकिएको बताए । ‘कसरी गर्ने भन्ने विषयमा केही समस्याहरु थिए, हामीले छलफल गरिरहेकै छौं, सहमती जुटाएर जिल्ला कमिटीलाई पूर्णता दिनुपर्छ त्यसमा हामी लागेकै छौं ।’ सचिव थापाले भिजनसँग भने ।