भ्रष्टाचारी र फटाहा नेता फालौं तर गणतन्त्रको विकल्प नसोचौं : रक्षामन्त्री राई

भ्रष्टाचारी र फटाहा नेता फालौं तर गणतन्त्रको विकल्प नसोचौं : रक्षामन्त्री राई


भिजन समाचार
954
Shares

संघीय लोकतान्त्रिक गणतन्त्र जस्तो देशलाई सुहाउँदो व्यवस्था अरु कुनै हुन नसक्ने रक्षामन्त्री मानविर राईले बताउनु भएको छ । आदिवासी जनजाति युवा महासंघको छैठौँ संघीय महाधिवेशनको ओखलढुङ्गामा उद्घाटन गर्दै मन्त्री राईले यस्तो बताए ।
सबै जातजाति, भाषा, धर्म र संस्कृतिलाई समान रुपले हेर्ने अहिलेको व्यवस्थालाई मास्ने प्रयास भइरहेको बताउँदै मन्त्री राईले यसको प्रतिकारका लागि सबै नेपाली एकजुट भएर लाग्नुपर्ने वहाको भनाई छ । अहिले व्यवस्था भन्दा पनि व्यक्तिले गरेको भ्रष्टाचार, अनियमिता, घुसखोरी राजनीति र कुशासनका कारण जनतामा निराशा छाएकोले व्यवस्था हैन व्यक्ति फाल्नुपर्ने मन्त्री राईको भनाई छ ।
“भ्रष्टाचारी र फटाहा नेतालाई कारबाही गर्ने, पार्टी तथा राजनीतिबाट फाल्नु पर्छ” उनले भने “तर पश्चगामी व्यवस्था ठिक छ भन्न मिल्दैन ।” आदिवासी जनजाति समुदायका माग र मुद्धालाई सरकारले यथोचित सम्बोधन गर्नेमा विस्वस्त हुन कार्यक्रममा प्रमुख अतिथी समेत रहेका रक्षामन्त्री राईले बताए ।
शिक्षक र निजामति कर्मचारीका माग सम्बोधनका लागि सरकारले संसद आह्वान गरिसकेको उनले जानकारी दिए ।
कार्यक्रममा संविधानसभा सदस्य यज्ञराज सुनुवारले केन्द्रिय महाधिवेशन हालसम्म जिल्लामा कुनै पनि संघ संगठनको नभएको अवस्थामा देशैभरका प्रतिनिधि भेला गरेर जिल्ला महाधिवेशन आयोजना गरेको वर्तमान अध्यक्ष हेमन्त राईलाई धन्यवाद दिए ।
महाधिवेशनको उद्घाटन कार्यक्रममा राई, सुनुवार, तामाङ, मगर लगायतका जातजातिले मौलिक झाँकी प्रदर्शन गरेका थिए । सिद्धिचरण नगरपालिका–११ गोरुमारे भञ्ज्याङ बाट झाँकी सहितको ¥याली बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको सभा हलमा अधिवेशनको उद्घाटन गरिएको छ ।

‘पहिचान अधिकार सहितको समृद्धि र रोजगारीका लागि हाम्रो अभियान, न्याय, समानता, समावेशी युवा नेतृत्वको लागि छैठौँ महाधिवेशन’ भन्ने नाराका संघीय महाधिवेशन जिल्लामा भइरहेको छ । जारी छैठौँ महाधिवेशनले आदिवासी जनजातिका हक अधिकार, माग र मुद्धालाई अझ सशक्त ढुंगले अघि बढाउने जुझारु नेतृत्व छनोट गर्ने अध्यक्ष हेमन्त राईको भनाई छ ।
महाधिवेशनमा देशैभरबाट तीन सय बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागि भएका छन् । महाधिवेशन आइतबार नयाँ नेतृत्व चयन गर्दैै समापन हुने केन्द्रिय सदस्य सुवास तामाङले जानकारी दिए ।