क्रान्तिकारी कम्युनिष्ट पार्टीले ओखलढुंगामा गणतन्त्रको विकल्प संघीय जनगणतन्त्रको अवधारणा सहित जनसम्बन्ध विस्तार अभियान सञ्चालन गरेको छ ।
देशका विभिन्न जिल्लाबाट अभियान सञ्चालन गर्ने क्रममा मोहन वैद्य किरण नेतृत्वको पार्टीले ओखलढुंगामा अभियान चलाएको हो ।
वर्तमान लोकतान्त्रिक गणतन्त्र नाम मात्रको गणतन्त्र भएको र यस व्यवस्थाले जनतामा निराशा, देशलाई आर्थिक भार र अन्तर्राष्ट्रिय स्तरमा देशकाे गरिमा खस्कँदो अवस्था रहेकोले व्यवस्था बदल्नुपर्ने अपरिहार्य भइसकेको पार्टीका पोलिटब्युरो सदस्य पुष्कर श्रेष्ठले बताए ।
लोकतान्त्रिक गणतन्त्रको विकल्प संघीय जनगणतन्त्रको अवधारणा सहित पार्टीले देशव्यापी अभियान सञ्चालन गरिरहेको श्रेष्ठले जानकारी गराए । पार्टीको अवधारणा अनुसार संसदको विकल्पमा बहुमत र अल्पमतको आधारमा सरकार गठन हुनेछ । सर्वहारा, श्रमजिवि र निम्न वर्गका नागरिकको उत्थानका लागि संघीय जनगणतन्त्र नेपाल बनाउने लक्ष सहित जनसम्बन्ध विस्तारलाई पार्टीले जोड दिएको नेताहरुले बताएका छन् ।
जिल्ला सदरमुकाममा भएको य्राली, कोणसभा र पत्रकार सम्मेलनमा पार्टीका पोलिट ब्युरो सदस्य पुस्कर श्रेष्ठ, वैकल्पिक पोलिटब्युरो सदस्य गणेश खड्गी, केन्द्रिय सदस्य बाबुराम सुवेदी र रुद्र फुयल लगायतले सम्बोधन गरेका थिए ।
अभियान अन्तर्गत पार्टीको धारणाबारे भित्तेलेखन, पर्चा वितरण र सचेतनाको कार्यक्रम चैत्र २९ गतेसम्म जिल्लामा रहेर गर्ने पार्टीका केन्द्रिय सदस्य रुद्र फुयालले जानकारी दिएका छन् ।
प्रतिक्रिया