तत्काल अध्यादेश त्यसपछि संविधान संशोधन : नेता ज्ञवाली

तत्काल अध्यादेश त्यसपछि संविधान संशोधन : नेता ज्ञवाली



नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले अघि सार्ने सबै अध्यादेश पारित हुने बताएका छन् । ओखलढुङ्गामा पार्टी स्कूल विभागको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै पूर्वमन्त्री समेत रहनुभएका नेता ज्ञवालीले सरकारले ल्याउने अध्यादेश दुवै सदनबाट पारित हुने बताएका हुन् ।

भूमिसम्बन्धी अध्यादेशका बारेमा बहस भइरहेपनि अरू अध्यादेश तत्काल संसद्मा पेश गर्ने र पारित हुने उनले दाबी गरेका छन् । अहिलेको सत्ता गठबन्धले संविधान संशोधन गरेर कतिपय समस्याहरु समाधानको बाटो लिएकाले दलसँगको समन्वयमा संशोधन प्रकृया अघि बढ्ने बताए । ‘तत्कालका लागि अध्यादेश ल्याएर कतिपय कामको बाटो फुकाउने र दिर्घकालिन निकायका लागि संविधान नै शंसोधन गर्ने भन्ने सत्तारुढ दलको तयारी छ ।’ उनले भने, ‘सरकार साना समस्यामा अल्झेर समय खेर फाल्दैन, देशको विकास र राजनीतिक निकासका लागि कांग्रेस–एमालेले लामो सत्तासहयात्रा गरेर अघि बढ्छन् ।’ संविधान संशोधन एक वा दुई दलले मात्र चाहेर हुने बिषय नभएकोले सर्वसहमतिमा संशोधन हुने उनको भनाई छ ।

यस्तै विभिन्न १० वटा लक्ष राखेर पार्टीलाई आन्तरिक रुपमा सबल, सुदृढ र सशक्त बनाउन तथा जनताका कुरा सुनेर सम्बोधन गर्न पार्टीेले ‘जरा केन्द्रित अभियान’ देशैभर सञ्चालन गरेको नेता ज्ञवालीको भनाई रहेको छ ।

जिल्लामा जारी ‘जरा केन्द्रित अभियान’ लाई थप प्रभावकारी बनाउन नेकपा एमाले स्कुल विभाग ओखलढुंगाको आयोजनामा मंगलबारबाट सुरु भएको तीन दिने प्रशिक्षकलाई प्रशिक्षण कार्यक्रमको प्रशिक्षकको रुपमा ज्ञवाली ओखलढुङ्गा आएका हुन् । मंगलबारबाट सुरु भएको प्रशिक्षण बिहीबार समापन हुनेछ ।

जिल्लाको आठ वटै पालिकाबाट तीन÷तीन जना गरि प्रशिक्षणमा कुल २४ जनाको सहभागीता रहेको स्कुल विभाग प्रमुख तथा पार्टीका जिल्ला उपाध्यक्ष कमल प्रसाद न्यौपानेले जानकारी दिए ।  

जिल्लाको सिद्धिचरण नगरपालिका–४ रुम्जाटारमा चलिरहेको प्रशिक्षणमा नेकपा एमाले उप–महासचिव ज्ञवालीसहित पार्टीका पोलिटब्युरो सदस्य पर्शुराम मेघी गुरुङ, नेकपा एमाले केन्द्रिय स्कुल विभाग सचिव घनश्याम कोइराला सहित स्कुल विभागका प्रदेश पदाधिकारी लगायत नेताहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख राजिव कट्वालले बताए ।