आफ्नै पौरख र स्रोत साधनले देश बनाऔँः उद्योग मन्त्री भण्डारी

आफ्नै पौरख र स्रोत साधनले देश बनाऔँः उद्योग मन्त्री भण्डारी


भिजन समाचार
2k
Shares

नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आफ्नै पौरख र स्रोत साधनले देश बनाउनुपर्ने बताएका छन् । ओखलढुंगाको लिखु गाउँपालिका–३ नर्मदेश्वरमा शनिबार नर्मदेश्वर महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री भण्डारीले यस्तो बताएका हुन् ।

अमेरिकाले एमसीसी लगायतका योजना स्थगित गर्दै उल्टै नेपाललाई दोषारोपण गरेको भन्दै मन्त्री भण्डारीले अब विदेशी सहयोगमा नभई स्वदेशमै रहेका उद्योग, कलकारखाना, स्रोत र साधनको उच्चतम प्रयोगबाट देश बनाउनुपर्ने बताए । स्वदेशको स्रोत–साधनको उच्चतम प्रयोग गर्ने गरि नीति, कार्यक्रम र बजेट ल्याउने योजना बनाईरहेको मन्त्री भण्डारीको भनाई छ । मन्त्री भण्डारीले ओखलढुंगा आफैमा एक ब्रान्ड भएकोले नर्मदेश्वर महोत्सवले धार्मिक र पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विस्वास व्यक्त गरेका छन् ।

नर्मदेश्वर मन्दिर संरक्षण तथा गुठी व्यवस्थापन संस्था र वडा कार्यालयको आयोजना तथा स्थानीय संघ संस्थाको सह आयोजनामा भएको महोत्सवमा पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता लगायत विविध साँस्कृतिक कार्यक्रम हुनेछन् । लिखु गाउँपालिका–३ नर्मदेश्वरमा रहेको नर्मदेश्वर महादेवको मन्दिर करिब तीन सय वर्ष पुरानो रहेको बताइएको छ ।