उपनिर्वाचन : आज रातिदेखि मौन अवधि शुरू हुने

उपनिर्वाचन : आज रातिदेखि मौन अवधि शुरू हुने

ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा वडा अध्यक्षका लागि मतदान हुदै


भिजन समाचार
53
Shares

आउँदो आईतबार हुने स्थानिय तह उपनिर्वाचनको लागि आज राति १२ बजेदेखि मौन अवधि शुरू हुँदैछ । मतदानको समय भन्दा ४८ घण्टा अघि मौन अवधि शुरू हुने भएकाले भोलिदेखि दल र उम्मेदवारहरुले चुनावी प्रचार गर्न पाउँदैनन् । अब राजनीतिक दल र उम्मेदवाहरूलाई प्रचारप्रसारको लागि आजको दिन मात्रै बाँकी छ ।

नगरपालिका र गाउँपालिकाको मेयर, उपमेयर तथा अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्ष गरी ४१ पदका लागि ३ सय ७६ जनाले उम्मेदवारी दिएका छन् । २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत ३ सय ७६ जनाको उम्मेदवारी कायम भएको निर्वाचन आयोगले जनाएको छ ।

आईतबार ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा वडा अध्यक्षका लागि मतदान हुदै छ । वडा अध्यक्षका लागि छ जना उम्मेदवार विच चुनावी प्रतिस्पर्धा हुदैछ ।

नेपाली कांग्रेसबाट घनश्याम दाहाल, नेकपा एमालेबाट गंगाबहादुर तामाङ, नेकपा माओवादी केन्द्रबाट मानबहादुर सुनुवार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिष्णुप्रसाद पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चन्द्रमणी दाहाल र जनता समाजवादी पार्टीबाट इन्द्रबहादुर दर्जीले वडा अध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।

यही मङ्शिर १६ गते आईतबार हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भय रहित शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था कडाई गरिएको छ । उपनिर्वाचनलाई लक्षित सुरक्षा योजनाको बनाएर शान्ति सुरक्षा व्यवस्थामा कडाई गरिएको हो ।

निर्वाचन स्थानिय तह र आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले बताए । शान्ति सुरक्षलाई ध्यानमा राखेर मदिराको ओसार–पसार, बिक्री र प्रयोगमा पनि प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी ढकालले बताए । निर्वाचन हुने क्षेत्रमा यातायातको सहज सञ्चालन तथा व्यवस्थापन गर्न सम्बन्धित स्थानिय तहलाई निर्देशन दिइएको प्रजिअ ढकालको भनाई छ ।

मतदानस्थलमा खानेपानी, शौचालय, विद्युत्, सञ्चार, आवजावतको वैकल्पिक मार्गका साथै ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गतामैत्री बनाउन निर्देशन दिईएका जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।

जिल्ला समन्वय समिति प्रमुखका लागि नेपाली कांग्रेसको तर्फ बाट टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । जिसस प्रमुख पदका लागि भट्टराईको एकल उम्मेदवारी परेको छ । आधिकारिक घोषणा हुन मात्र बाँकी छ ।

जिसस प्रमुख डिल्लीराम खनाल र मोलुङ गाउँपालिका–५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भए पछि उपनिर्वाचन हुन लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।