कीर्तिपुरको उपनिर्वाचन सरगर्मी

कीर्तिपुरको उपनिर्वाचन सरगर्मी


भिजन समाचार
106
Shares

कीर्तिपुरमा प्रत्येक स्थानीय निर्वाचनमा खानेपानी समस्या प्रमुख मुद्दा बन्दै आएको छ । २०५१ साल देखी प्रत्येक निर्वाचनमा र्कीर्तिपुरमा खानेपानीको मुद्दा प्रमुख मुद्दाका रुपमा बन्ने गरेको छ । ३० वर्षपछि पनि यो समस्या समाधान हुन सकेको छैन । मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पनि खानेपानीकै समस्या प्रमुख मुद्दा बनेको छ ।

स्थानीय तह उपनिर्वाचन २०८१ का लागि आइतबार मतदान हुँदै छ । ४१ पदका लागि मतदान हुने भए पनि राजधानी सहरसमेत रहेको काठमाडौँ जिल्ला अन्तर्गतको कीर्तिपुर नगरपालिका र काठमाडौँ–१६ को निर्वाचन चासोको विषय बनेको छ । कीर्तिपुर नगरपालिकामा प्रमुख तथा वडा नं. १ र ४ का अध्यक्ष पदका लागि मतदान हुँदै छ ।

नेवार समुदायको बाहुल्य रहेको कीर्तिपुर नगरपालिकामा दस वटा वडा छन् । करिब एक लाख व्यक्ति बसोबास गर्ने यस पालिकामा ७४ हजार स्थानीय बासिन्दा र ३१ हजार १०९ मतदाता छन् । कांग्रेसबाट निर्वाचित नगरप्रमुख राजकुमार नकर्मीको निधन भएपछि पालिका प्रमुखका लागि कीर्तिपुरमा उपनिर्वाचन हुन लागेको हो ।

काठमाडौँ महानगरपालिकासँग जोडिएको कीर्तिपुर नगरपालिकाको मुख्य बाटो फराकिलो छैन । बाटोको अवस्था दयनीय छ । फोहोरको नियमित व्यवस्थापन हुन सकेको छैन ।

नगरप्रमुख पदका लागि नौ जना दलका र ११ जना स्वतन्त्र गरी २० जना उम्मेदवार रहेका छन् । अधिकांश उम्मेदवारले खानेपानीको सहज आपूर्ति, फोहोरमैला व्यवस्थापन, सामुदायिक विद्यालयको पठनपाठनलाई स्तरीय बनाउने र जीर्ण बाटोलाई चिल्लो बनाउने चुनावी नारा लगाएका छन् । 

देशकै सबैभन्दा जेठो र प्रतिष्ठित त्रिभुवन विश्वविद्यालय कीर्तिपुर नगरपालिकाभित्रै पर्छ । नेपालकै एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानसमेत कीर्तिपुरभित्र नै छ । खेल र शैक्षिक पर्यटनसँगै नेवा संस्कृतिको माध्यमबाट पर्यटन प्रवर्धन गर्न सकिने प्रचुर सम्भावना रहेको स्थानीयको भनाई छ ।

नगरपालिकाको प्रमुख पदका प्रत्याशीले यी सबै समस्या समाधानका लागि आफू उम्मेदवार बनेको दाबी गरेका छन् । पालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डङ्गोल,  नेकपा (एमाले) का सुरेन्द्र मानन्धर, नेकपा (माओवादी केन्द्र) का प्राडा शिवशरण महर्जन, नेपाल समाजवादी पार्टीका दिलकुमार महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुव महर्जन, जनता समाजवादी पार्टी, नेपालका दीपक महर्जन, जनमत पार्टीका केशव श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जनले दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिनुभएको छ ।

त्यसै गरी राजमान महर्जन, नवरथकुमार बानियाँ, रामकृष्ण महर्जन, प्रेमबहादुर महर्जन, दिनेशकुमार अधिकारी, नरेश श्रेष्ठ, धर्मरत्न मानन्धर, कविकुमार महर्जन, नरेशराज पाण्डे र आनन्द महर्जनले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । कीर्तिपुरको प्रमुख पदमा २० जना उम्मेदवारमध्ये महिला उम्मेदवार एक जना पनि छैनन् ।