नेपाली मौलिक कथा वस्तुलाई चलचित्रमा समावेश गर्न राष्ट्रपति रामचन्द्र पौडेलले आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले ठुला ठुला विषयवस्तु भन्दा गाउँ समाजमा देखिएका स–साना तर मौलिक कथा र चरित्रलाई प्रस्तुत गरेर ओझेलमा परेको नेपाली भाषा संस्कृति तथा परम्पराको जगेर्ना गर्न पनि नेपाली चलचित्र उद्योगले थप मेहनत गर्ने आफूले अपेक्षा राखेको बताएका छन् ।
चलचित्र विकास बोर्डद्वारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने ‘नेपालको प्रकृति र संस्कृतिलाई आधुनिक प्रविधि, उपकरणको प्रबन्ध गरी गुणस्तरीय र अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धा गर्न सक्ने चलचित्रलाई पर्दामा उतारेर चलचित्र उद्योगलाई नेपालको पर्यटन उद्योगसँग जोड्न यस अवसरमा सबै कलाप्रेमी महानुभावहरूलाई आह्वान गर्दछु ।’
पछिल्लो समय व्यावसायिक सफलता र कथा प्रस्तुतिमा आएको शैलीगत विशेषताले नायकत्वभन्दा कथाका विषयवस्तु र चरित्रलाई प्रधानता दिएका चलचित्रलाई नेपाली दर्शकले औधी रुचाउन थालेको पनि उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले मौलिक कथा, प्रस्तुतिमा नवीनता र अधिक सृजनशीलताले नेपाली चलचित्र क्षेत्रलाई विकासको नयाँ उचाइमा पु¥याउने बताए ।
राष्ट्रपति पौडेलले चलचित्र र मनोरञ्जन क्षेत्रमा देखापर्ने विकृति र विसङ्गतिलाई नियमन गर्न नियामक निकायकारुपमा रहेको विकास बोर्डलगायतका निकायहरूले उचित कदम अगाडि बढाउन जरुरी रहेको सुझाव दिए ।
सो क्रममा राष्ट्रपति पौडेलले दीर्घ साधना सम्मानबाट अभिनेत्री चैतीदेवी सिंहलाई ३ लाख ७५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । यसै अवसरमा नेपाली चलचित्र क्षेत्रका अन्य कलाकारहरु समेत विभिन्न विधामा सम्मानित भएका छन् ।
प्रतिक्रिया