स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

स्वतन्त्र उम्मेदवारले लिए उम्मेदवारी फिर्ता


भिजन समाचार
1.5k
Shares

आगामी मंसिर १६ गते हुन गईरहेको स्थानिय तह उप–निर्वाचनमा सहभागी हुन उम्मेदवारी दिएका दुई जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ नं. वडाको वडा अध्यक्षका लागि हुन लागेको उप–निर्वाचनमा उम्मेदवारी दिएका दुई जना स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

निर्वाचन कार्यतालिका अनुसार बुधबार बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने व्यवस्था रहे अनुसार वडा अध्यक्षका लागि उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार हेमबहादुर सुनुवार र दिपप्रसाद दाहालले उम्मदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले बताए ।

बाँकी रहेका विभिन्न दलका छ जना उम्मेदवार विच चुनावी प्रतिस्पर्धा हुने बताईएको छ । बाँकी रहेका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिए ।

नेकपा एमाले बाट गंगाबहादुर तामाङ, नेपाली काँग्रेसबाट घनश्याम दाहाल, नेकपा माओवादी केन्द्रबाट मानबहादुर सुनुवार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिष्णुप्रसाद पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चन्द्रमणी दाहाल, जनता समाजवादी पार्टीबाट इन्द्रबहादुर दर्जीले उम्मेदवार छन् ।

गत जेठमा मोलुङ गाउँपालिका–५ का वडाध्यक्ष गोपीकृष्ण कार्कीको निधन भए पछि यहाँ उप–निर्वाचन हुन लागेको हो । नेपाली काँग्रेसको तर्फबाट निर्वाचित कार्कीको शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा ५१ वर्षको उमेरमा निधन भएको थियो ।

यस वडामा एक हजार ३२५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय ओखलढुङ्गाले जनाएको छ । जसमा महिला ६५९ जना महिला र ६६६ जना पुरुष रहेका छन् । जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा भने काँग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् । जिसस प्रमुखमा भट्टराईको एकल उम्मेदवारी परेको थियो । आधिकारीक घोषणा हुन बाँकी छ ।