ओखलढुंगा कांग्रेसमा महासमिति छनोटः भित्र सर्वसम्मत, बाहिर विरोध

ओखलढुंगा कांग्रेसमा महासमिति छनोटः भित्र सर्वसम्मत, बाहिर विरोध


भिजन समाचार
6.5k
Shares

नेपाली कांग्रेस ओखलढुंगाले महासमिति सदस्यहरु सर्वसम्मत छानेको छ । विद्यान संशोधनसहित पार्टीको महत्वपूर्ण गतिविधिमा सहभागी हुने र नेताको हैसियत बढाउने महासमिति सदस्य पदमा जिल्ला कार्यसमितिले सर्वसम्मत नाम छानेको हो ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने ११ पदमा खुलातर्फ खिलानाथ दाहाल, लीला बल्लभ दाहाल, नवीन राई, वेदबहादुर रोका र सर्वधन तामाङ, खुला महिलातर्फ गोमा केसी र बाला अधिकारी, खस आर्यतर्फ हरि दाहाल, जनजाति पुरुषमा कुमार श्रेष्ठ, जनजाति महिलामा हेमालक्ष्मी राई र दलित सदस्यमा होमबहादुर विक चयन भएको कांग्रेस जिल्ला सचिव राजकुमार ढुंगानाले बताए । सहमतिको अधिकतम् प्रयास गरेर जिल्ला कार्यसमितिको बैठकले निर्विरोध रूपमा महासमिति सदस्यहरूको नामावली टुङ्ग्याएको उनको भनाई छ ।

यसअघि पटक पटक महासमिति बनेका र शिर्ष भनिएका महेश कोमोर्चा, रुद्र अधिकारी, अशोक कार्की, कुमार लुइँटेललगायतका नेताहरुको नाम यस पटक महासमिति सदस्य बन्नबाट छुटेको छ ।

जिल्ला कार्यसमितिको बैठकले सर्वसम्मत निर्णय गरेपनि महासमितिमा नाम नपरेका नेताहरुले भने असन्तुष्टि जनाएका छन् । जिल्ला नेतृत्वले प्रतिशोधपूर्ण निर्णय गरेको भन्दै महासमितिमा नपरेका नेता र उनीहरु पक्षधरले निर्णयको विरोध जनाएका हुन् ।

महासमिति सदस्य छनोटका विषयमा उत्पन्न विवादका विषयमा कांग्रेस सचिव राजकुमार ढुंगानाले राजनीतिमा शक्ति संघर्ष हुने भएपनि सन्तुलित निर्णय गर्ने प्रयास गरिएको बताए। ‘राजनीतिमा स्वभाविक शक्ति संघर्ष हुन्छ तर हामीले संयमित भएर सर्वपक्षिय छलफल गरेरै महासमिति छानेका छौं ।’ सचिव ढुंगानाले भने, ‘अहिले छुट्नुभएका नेताहरुको पनि व्यवस्थापन हुन्छ । एक पटक पद नपाउँदैमा पार्टी हित विपरिति भाष्य सिर्जना गर्नुहुँदैन ।’ महासमिति छनोटले ओखलढुंगामा समुदायमा कांग्रेस जागरण अभियान नै प्रभावित बनेको छ ।

सामाजिक सञ्जालमा समेत कांग्रेस कार्यकर्ताहरु पक्ष-विपक्षमा उत्रिएका छन् ।