बरुणेश्वर सेवा समाजको अक्षयकोषमा पूर्वमन्त्री अम्बिरबाबु गुरुङले व्यक्तिगत तर्फबाट दश लाख सहयोग गरेका छन् । अपाङ्गता एवं विपन्न नागरिक, प्राकृतिक प्रकोप पीडित र सहारा विहिनलगायतलाई सहयोग गर्ने उद्देश्यले बरुणेश्वर सेवा समाजले स्थापना गरेको अक्षयकोषमा पूर्वमन्त्री गुरुङले दश लाख सहयोग गरेका हुन् ।
ओखलढुंगाको मोलुङ गाउँपालिका २ रामपुरमा तिहारमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै गुरुङले १० लाख सहयोग गर्ने घोषणा गरेका थिए । जनताका बीचमा गरेको वाचा पुरा गर्दै गुरुङले विहिबार रामपुरमा बरुणेश्वर सेवा समाजलाई दश लाखको चेक हस्तान्तरण गरेका छन् ।
चेक हस्तान्तरण गर्दै पूर्वमन्त्री गुरुङले आफु जनताको सेवामा आजिवन लागिरहने बताए । निर्वाचनमा पराजित भएपनि चुनाव जितेकाहरुले भन्दा बढी जनताको पक्षमा काम गर्ने उनको भनाई थियो । वर्तमान सांसदहरुले विकास बजेट ल्याउन नसकेको टिप्पणी गरेका छन् ।
नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र इन्चार्ज समेत रहेका नेता गुरुङले सामाजिक कामलाई संस्थागत गरेर कानुनी रुपमा अघि बढ्न सुझावसहितको सहयोग गरेपछि बरुणेश्वरका सामाजिक अगुवाहरुले तोयानाथ काफ्लेको नेतृत्वमा संस्था दर्ता गरेर अक्षयकोष स्थापना गरेका हुन् ।
बरुणेश्वर सेवा समाजले विहिबार रामपुरमा अपाङ्गता भएकाहरुलाई सम्मानसहितको अक्षयकोष सार्वजनिक कार्यक्रम गरेको छ । कार्यक्रममा मोलुङ गाउँपालिका–२ रामपुरका ४५ जना अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कम्बल वितरण र दाताहरुले अक्षयकोषमा दिने भनिएको रकम हस्तान्तरण गरिएको छ ।
अक्षयकोषमा पूर्वमन्त्री गुरुङले १० लाख, एमाले नेता जिबी खड्काले १ लाख सहयोग गरेको र तिहारमा देउसी भैलो कार्यक्रमबाट ८१ हजार जम्मा गरिएको रकम अक्षयकोषमा जम्मा भएको समाजका अध्यक्ष तोयानाथ काफ्लेले बताए । अक्षयकोषको ब्याजबाट अग्नी पिडित, गरिब तथा विपन्न नागरिकहरुलाई सहयोग गरिने समाजले जनाएको छ ।
प्रतिक्रिया