ओखलढुंगामा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को तयारी, कांग्रेसको अभियान रोकियो

ओखलढुंगामा ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को तयारी, कांग्रेसको अभियान रोकियो


भिजन समाचार
742
Shares

नेकपा माओवादी केन्द्र ओखलढुंगाले ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ का लागि तयारी थालेको छ ।  भदौ १६ गते देखि सुरु हुने अभियानको तयारी स्वरुप जिल्ला कमिटीले बैठक र भेलालाई तिब्रता दिएको हो ।

भाद्र १६ गतेबाट तीन महिनासम्म सञ्चालन हुने अभियानको लागि केन्द्रिय सदस्यहरुले जिल्ला कमिटीलाई ब्रिफिङ गर्ने साथै अभियानलाई प्रभावकारी बनाउने बिषयमा छलफल भइरहेको नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सचिवालय सदस्य तथा जिल्ला कमिटी संयोजक निशान्त शर्माले बताए ।

उनका अनुसार अभियान अन्तरगत केन्द्रिय, प्रदेश तथा जिल्ला कमिटी नेताहरु पालिका र वडा कमिटीमा पुगेर बैठक भेला गर्नेछन् ।

साथै नागरिकसँग प्रत्यक्ष जोडिने खालका कार्यक्रम गरि पार्टी सुदृढीकरण र संगठन विस्तारलाई तिब्रता दिइने नेकपा माओवादी केन्द्र जिल्ला कमिटी ओखलढुगाले जनाएको छ ।

यसैबीच भाद्र १० गतेबाट हुने भनिएकोे ‘समुदायमा कांग्रेस’ अभियान स्थगित भएको छ । साउन पहिलो साता बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकबाट कांग्रेसले एक वर्षे कार्यतालिका पारित गर्दै कांग्रेसलाई जनतासँग जोड्ने उद्देश्यसहित चरणवद्ध संगठन सुदृढीकरणका अभियानहरु घोषणा भएका थिए ।

जसअन्तर्गत साउन २० देखि ३० गतेसम्म आन्तरिक विशेष अभियान सञ्चालन भएको तर भाद्र १० भदौदेखि २४ गतेसम्म हुने भनिएको ‘समुदायमा कांग्रेस’ अभियान भने स्थगीत भएको नेपाली काग्रेस जिल्ला कार्यसमिति सभापति तेजेन्द्र खनालले जानकारी दिए ।

पार्टीका केन्द्रिय पदाधिकारीहरुको बैठकले तत्काल ‘समुदायमा कांग्रेस’ अभियान स्थगित गर्ने निर्णय गरेसँगै यो अभियान जिल्लामा पनि तत्कालका लागि स्थगीत भएको उहाँको भनाई छ ।

अहिले वर्षाले देशभरि समस्या निम्त्याइरहेको, आँखा पाक्ने रोगको प्रकोप बढेको तथा डेंगुको संक्रमण पनि बढेकोले पछि सञ्चालन हुने गरि अभियान तत्काललाई स्थगित भएको नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ ।