राष्ट्रिय युवा संघ ओखलढुंगा सातौं जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । भाद्र ३० गतेका लागि तोकिएको जिल्ला अधिव्यसन भव्य बनाउन वर्तमान नेतृत्व लागेको हो ।
गाउँदेखि जिल्ला र शहर सम्मका सबै युवा संघमा आवद्ध र एमालेमा आस्थावान युवालाई समेटेर सातौं जिल्ला अधिवेशन ऐतिहासिक बनाइने युवा संघ ओखलढुंगाका अध्यक्ष विनोद खत्रीले बताए । अधिवेशनकै सन्दर्भमा काठमाडौंमा रहेका युवाहरुबीच आवश्यक छलफल गर्न भाद्र ८ गते दिउँसो १ बजे ताज रिसेप्सन बालुवाटारमा युवा भेला आवहन गरिएको खत्रीको भनाई छ । ‘विभिन्न पेशा व्यवसाय गरेर राजधानीमा बसोबास गर्ने युवाहरुको पनि चुनावमा महत्वपूर्ण भूमिका रहन्छ । जिल्ला पार्टी र संगठन प्रति उहाँहरुको उत्तिकै चासो र चिन्ता छ ।’ अध्यक्ष खत्रीले भने,‘अधिवेशन भन्ने वित्तिकै विगत कामको समिक्षा, नयाँ कार्यसमिति गठन र नयाँ योजना निर्माण हुने भएकाले अधिवेशनकोे पूर्वसंध्यामा सबै सँगै बसेर छलफल गरौं र रचनात्मक योजना निर्माण गरौं भन्ने उद्देश्यले भेटघाट कार्यक्रम राखेका छौं ।’ युवा संघले राजधानीमा बसोबास गर्ने युवा संघका नेता कार्यकर्ता र एमालेमा आस्थावान जिल्लाबासी नेतालाई समेत कार्यक्रममा उपस्थितीका लागि अनुरोध गरेको छ ।
अधिवेशन सम्पन्न गर्न जिल्लामा ९ सदस्य सचिवालय र विभिन्न समिति, उपसमिति गठन गरिएको छ ।
शुन्य गतिविधिमा समिति बनेको युवा संघ ओखलढुंगा विनोद खत्री नेतृत्वको नयाँ कार्यसमिति गठनपछि चलायमान बनेको छ ।
प्रतिक्रिया