ओखलढुंगा कांग्रेसकाे सदृढीकरण अभियान सुरु

ओखलढुंगा कांग्रेसकाे सदृढीकरण अभियान सुरु


भिजन समाचार
530
Shares

नेपाली कांग्रेस ओखलढुंगाले आन्तरिक पार्टी संगठन सदृढीकरण अभियान थालेको छ । देशका ७७ वटै जिल्लामा सञ्चालन हुने अभियान अनुरुप ओखलढुंगामा पनि शनिबारबाट यो अभियान सुरु भएको हो ।

पहिलो चरणमा साउन २० देखि ३० गतेसम्म पार्टीको आन्तरिक सुदृढीकरणका कार्यक्रम हुने नेपाली कांग्रेस जिल्ला कार्यसमिति ओखलढुंगाका सभापति तेजेन्द्र खनालले जानकारी दिएका छन् । उनका अनुसार ओखलढुंगामा अभियानका लागि कांग्रेस नेता सर्वधन राई खटिएका छन् ।

पहिलो चरणमा पुर्ण रुपमा पार्टीको आन्तरिक संरचनाका बिषयमा छलफल परामर्श र सुधारका काम हुनेछन् । केन्द्रिय नेताको सहजिकरणमा अपूर्ण रहेको कार्यसमिति छ भने पूर्णता दिने, नियमित बैठक बस्न लगाउने, रिपोर्टिङ लिने काम हुनेछ ।

यस्तै सम्मेलन भएको छैन भने मिति तोक्न लगाउने, सम्मेलन भएको रहेछ भने रिपोर्ट दिन लगाउने, आन्तरिक विवाद समाधान गर्ने, नयाँ क्रियाशील सदस्यता वितरण, नवीकरण लगायतका काम पहिलो चरणमा हुने सभापति खनालले बताए ।

कांग्रेस केन्द्रीय समिति बैठकले प्रत्येक गाउँ वा नगर समितिले ‘सेवा दल’ बनाउने निर्णय गरेको थियो । त्यो सेवा दल गठनको प्रक्रिया सुरु गराउन केन्द्रीय सदस्यहरुले सहजीकरण गर्नेछन् ।

यस्तै भदौ १० देखि २४ गतेसम्म तोकिएको दोस्रो चरणको अभियानमा नागरिकसँग प्रत्यक्ष जोडिने कार्यक्रम सञ्चालन हुने नेपाली कांग्रेस ओखलढुंगाले जनाएको छ ।