पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता स्वर्गीय बलबहादुर राईको १३ औँ स्मृति दिवस गृह जिल्ला ओखलढुंगामा मनाइएको छ । पुर्वमन्त्री तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल, कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामहरि खतिवडालगायत केन्द्र तथा जिल्लाका नेताहरुले जिल्ला सदरमुकामा रहेको स्व. नेता राईको सालिकमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्दै सम्झना गरेका हुन् ।
सालिकमा माल्यार्पण गर्दै नेता रिजालले देशमा प्रजातन्त्र प्राप्तिको लागि स्वर्गीय नेता राईको योगदान अतुलनीय रहेको बताए । बलबहादुर राई जस्ता नेताले लडेर ल्याएको प्रजातन्त्रको रक्षाका लागि अहिलेको पुस्ताले गम्भीर हुन जरुरी रहेको उनको भनाई थियो ।
बल बहादुर राई स्मृति प्रतिष्ठानको आयोजनामा भएको स्मृति दिवस तथा माल्यार्पण कार्यक्रममा नेता रिजाल, संघीय सांसद तथा कांग्रेस केन्द्रिय सदस्य रामहरी खतिवडा, संविधानसभा सदस्य प्रमिला राई, जिल्ला समन्वय समिति ओखलढुंगा प्रमुख डिल्लीराम खनाल, पार्टी जिल्ला सभापति तथा सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनाल लगायत कांग्रेसका केन्द्रिय तथा जिल्लास्तरका नेताहरुको सहभागीता रहेको प्रतिष्ठानका अध्यक्ष शंकर खनालले बताए ।
कांग्रेस केन्द्रीय सदस्य तथा १९ पटक कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका नेता राईको वि.सं.२०६७ असार २० गते ८९ बर्षको उमेरमा निधन भएको थियो ।
प्रतिक्रिया