ओखलढुंगा । ओखलढुंगामा १९ प्रतिशत रोपाइँ भएको छ । असारको मध्यसम्ममा जिल्लाभर १९.७५ प्रतिशत मात्र रोपाइँ भएको हो ।
जिल्लामा चार हजार चार सय १० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेकोमा हालसम्म १९.७५ प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका बागबानी विकास अधिकृत टिका बानियाले भिजनलाई जानकारी दिए । उनका अनुसार असार १५ सम्मको तथ्यांकमा जिल्लाको सिद्धिचरण नगरपालिकामा १५ प्रतिशत, सुनकोशीमा १५, चम्पादेवी १८, लिखुमा २८ खिजीदेम्बामा ३० मोलुङ २५, मानेभञ्ज्याङ र चिशंखुगढीमा पनि १५ प्रतिशत बढी क्षेत्रमा रोपाइँ भएको छ ।
गतसाल असार १५ सम्ममा जिल्लामा ३० प्रतिशत रोपाइँ भएको थियो । यो बर्ष मध्य असारसम्म पनि पर्याप्त बर्षा नभएका कारण रोपाइँ ढिलो भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ ।
जिल्लाको अधिकांश क्षेत्रमा रोपाइँ गर्न आकाशे पानीको भर पर्नुपर्ने भएकाले पर्याप्त वर्षा नहुँदा रोपाइँ रोकिने अवस्था छ । सिंचाईका लागि कुलो भएका ठाउँमा पनि मुहान फुट्नेगरी वर्षा नएकाले कुलोमा आउने पानी नहुँदा रोपाइँ हुनसकेको छैन ।
प्रतिक्रिया