ओखलढुंगामा देउवा पक्षको वडा अधिवेशन सुस्त

भिजन समाचार
0
Shares

ओखलढुंगा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत ओखलढुंगामा शेरबहादुर देउवा पक्षको वडा अधिवेशन प्रक्रिया सुस्त देखिएको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार असोज २० गतेभित्र सबै वडाको अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिए पनि जिल्लाका दुई पालिकामा अझै वडा अधिवेशन हुन बाँकी रहेको छ ।

देउवा पक्षले जिल्लाका आठ स्थानीय तहमध्ये छ वटा पालिकामा वडा अधिवेशन सम्पन्न गरेको जनाएको छ । सिद्धिचरण नगरपालिका र मानेभञ्ज्याङ गाउँपालिकाका वडामा भने अधिवेशन सम्पन्न हुन बाँकी रहेको देउवा पक्षकी केन्द्रीय सदस्य गोमा केसीले जानकारी दिईन्।

देउवा पक्षले गत बिहीबार लिखु गाउँपालिका–८ टारकेराबारीबाट वडा अधिवेशनको औपचारिक सुरुवात गरेको थियो । त्यसपछि जिल्लाका अन्य पालिकामा समेत क्रमशः वडा अधिवेशन सञ्चालन गरिएको हो ।

केन्द्रीय सदस्य केसीका अनुसार कतिपय वडामा सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास भइरहेकाले निर्धारित समयभन्दा केही ढिलाइ भएको हो । उनले स्थानीय नेता, कार्यकर्ता र प्रतिनिधिहरूबीचको सहमतिका आधारमा वडा नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेको बताईन् ।

वडा अधिवेशन मार्फत पार्टीको तल्लो तहको संगठनलाई थप सक्रिय र व्यवस्थित बनाउने देउवा पक्षको तयारी छ । वडा तहको नेतृत्व चयन सम्पन्न भएपछि पालिका अधिवेशनको प्रक्रिया अघि बढाइने जनाइएको छ ।

देउवा पक्षले वडा, पालिका, क्षेत्र र प्रदेश हुँदै केन्द्रीय तहसम्मको अधिवेशन प्रक्रिया अघि बढाउने जनाएको छ । जिल्ला अधिवेशन भने दसैँपछि गर्ने तयारी रहेको केसीले जानकारी दिईन् । देउवा पक्षको महाधिवेशनमा नेता कार्यकर्ताको आकर्षण न्युन देखिन्छ ।