विद्यार्थीलाई अल्लोका झोला वितरण

भिजन समाचार
0
Shares

ओखलढुंगा । जिल्ला आठ विद्यालयका २५० जना विद्यार्थीलाई अल्लोबाट निर्मित झोला वितरण गरिएको छ । स्वयंसेवी फ्रेन्चेस्का र मनिषा राईको सहयोग तथा स्वयंसेवी अभियान नेपाल (भिन)को सहजीकरणमा २ लाख १२ हजार ५०० रुपैयाँ मुल्य बराबरका झोला विद्यार्थीलाई वितरण गरिएको हो ।

सिद्धिचरण नगरपालिका–२ को सामुदायिक सिकाइ केन्द्रमा बुधबार आयोजित कार्यक्रममा सिद्धिचरण नगरपालिका–२ का वडा अध्यक्ष बसन्त कटवालले विद्यार्थीलाई झोला हस्तान्तरण गरे । सिद्धिचरण नगरपालिका–१ र २ तथा चिशंखुगढी गाउँपालिका–६ भदौरेका कक्षा ४ देखि माथिका विद्यार्थीलाई झोला वितरण गरिएको हो ।

झोला पाउनेमा जनचेतना माध्यमिक विद्यालयका ३३, कडेनी माध्यमिक विद्यालयका ४३, छात्रप्रगति माध्यमिक विद्यालयका ४०, महेश्वर माध्यमिक विद्यालयका ४०, कर्कला आधारभूत विद्यालयका १४, तिनपिप्ले आधारभूत विद्यालयका ९, हिमालय माध्यमिक विद्यालयका ५० र रक्तमाला आधारभूत विद्यालयका २२ जना विद्यार्थी छन् ।

विद्यार्थीलाई किताब–कापी तथा शैक्षिक सामग्री सुरक्षित रूपमा बोक्न सहज होस् र पढाइप्रति उत्साह बढोस् भन्ने उद्देश्यले झोला वितरण गरिएको स्वयंसेवी अभियान नेपालले जनाएको छ । वर्षायाममा किताब–कापी भिज्ने तथा च्यातिने समस्या देखिएपछि आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई लक्षित गरी सहयोग अभियान अघि बढाइएको स्वयंसेवक मनिषा राईले बताईन ।

छ महिनाका लागि बालबालिका सम्बन्धी काम गर्न स्वयंसेवी अभियान नेपालमा आएकी राई र अन्तर्राष्ट्रिय स्वयंसेवक फ्रेन्चेस्काले विद्यालयमा किताब–कापी हातमै बोकेर आउने विद्यार्थी देखेपछि झोला उपलब्ध गराउने योजना बनाएका थिए । सानो–सानो सहयोग जुटाएर योजना सफल भएको र यसले विद्यार्थीको पढाइमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उनको भनाई छ ।

कार्यक्रममा चिशंखुगढी गाउँपालिका–६ का वडा अध्यक्ष बलराम कटवाल, सिद्धिचरण नगरपालिका–२ का वडा अध्यक्ष बसन्त कटवाल, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अभिभावकको सहभागिता थियो । आगामी दिनमा पनि आर्थिक रूपमा कमजोर तथा आवश्यकतामा रहेका बालबालिकालाई लक्षित गरी सहयोगका कार्यक्रमलाई निरन्तरता दिने स्वयंसेवी अभियान नेपालका अध्यक्ष भूपेन्द्रकुमार घिमिरेले बताए ।