गाम्नाङ्गटारका ४३९ विद्यार्थी तथा शिक्षकलाई ट्रयाकसुट वितरण

भिजन समाचार
0
Shares

ओखलढुंगा । लिखु गाउँपालिका–९ पोकलीका समाजसेवी मिलन बिष्टले लिखु–६ गाम्नाङ्गटारको ग्रामोदय युगकवि सिद्धिचरण माध्यमिक विद्यालयका विद्यार्थी तथा शिक्षक–कर्मचारीलाई ४३९ सेट ट्रयाकसुट वितरण गरेका छन् ।

विद्यालयमा अध्ययनरत ४०० विद्यार्थी तथा ३९ जना शिक्षक–कर्मचारीका लागि समाजसेवी बिष्टले ट्रयाकसुट सहयोग गरेका हुन् । शुक्रबार आयोजित एक कार्यक्रमका बीच बिष्टका आफन्त उद्धव बिष्टमार्फत विद्यालय र विद्यार्थीलाई उक्त ट्रयाकसुट हस्तान्तरण गरिएको हो ।

समाजसेवी बिष्टले आफ्ना स्वर्गीय बुबा गणेशबहादुर बिष्टको स्मृतिमा ट्रयाकसुट सहयोग गरेको बताए । आफू पनि सोही विद्यालयको पूर्वविद्यार्थी भएकाले विद्यालयसँगको सम्बन्धलाई सम्झँदै विद्यार्थी र शिक्षकलाई सहयोग गर्न पाउँदा खुसी लागेको उनको भनाइ छ ।

विद्यार्थीमा आत्मविश्वास, अनुशासन र समानताको भावना विकास गर्नुका साथै विद्यालयप्रतिको अपनत्व बढाउन सहयोग पुग्ने उद्देश्यले पोशाक वितरण गरिएको बिष्टले बताए । विद्यालयमा अध्ययन गर्ने सबै विद्यार्थीले एउटै पोशाक लगाउँदा आपसी समानताको भावना विकास हुनुका साथै शैक्षिक वातावरणसमेत थप सकारात्मक र प्रेरणादायी बन्ने अपेक्षा गरिएको छ ।

विद्यालयले समाजसेवी बिष्टको शिक्षा क्षेत्रप्रतिको योगदान प्रशंसनीय र प्रेरणादायी रहेको जनाएको छ । विद्यालयका लागि आवश्यक सहयोग उपलब्ध गराएर पूर्वविद्यार्थीले आफ्नो सामाजिक उत्तरदायित्वसमेत निर्वाह गरेको विद्यालयको भनाइ छ ।

समाजसेवी बिष्टले आगामी दिनमा पनि शिक्षा क्षेत्रमा सहयोगका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक तथा व्यक्तिगत विकासमा सहयोग पुग्ने यस्ता सामाजिक कार्यले समुदाय र विद्यालयबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।