ओखलढुंगा । ओखलढुंगाका दृष्टिविहीन सर्जक निमबहादुर मगर सम्मानित भएका छन् । सिद्धिचरण नगरपालिका–६ जन्तरखानी पात्लेका मगरलाई सर्जक चौतारी ओखलढुंगाले सञ्चालन गरेको ‘सर्जकसँग जन्मोत्सव’ अभियान अन्तर्गत उनकै निवासमा पुगेर सम्मान गरेको हो ।
दृष्टिविहीन भए पनि कविता, गीत तथा मुर्चुङ्गाको धुनमार्फत कला र साहित्यमा निरन्तर सक्रिय रहँदै आएका मगरको सिर्जनात्मक योगदानको कदर गर्दै सम्मान गरिएको सर्जक चौतारीले जनाएको छ ।
अभियानको पहिलो कार्यक्रमका रूपमा आयोजित सम्मान कार्यक्रममा चिशंखुगढी गाउँपालिका–२ का लिला श्रेष्ठ र उनकी पत्नी शर्मिला श्रेष्ठले आफ्ना छोरा रस्विन श्रेष्ठको पाँचौँ जन्मदिनमा हुने खर्च सामाजिक सेवामा रूपान्तरण गर्दै मगरलाई ७ हजार ७ सय ७७ रुपैयाँ सहयोग गरेका थिए । त्यसैगरी झापा घर भई हाल नवलपरासीमा कार्यरत सरकारी कर्मचारी मनिष पुरीले १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका थिए । मगरलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सम्मानित सर्जक मगरले आफ्ना कविता, गीत तथा मुर्चुङ्गाको धुन प्रस्तुत गरेका थिए भने उपस्थित सर्जकहरूले पनि आफ्ना साहित्यिक रचना वाचन गरेका थिए ।
सिद्धिचरण नगरपालिका–६ का वडा अध्यक्ष मेखबहादुर मगरले यस्तो अभियानले गाउँमा लुकेर रहेका प्रतिभालाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । सहयोगी लिला श्रेष्ठले जन्मदिनमा हुने अनावश्यक खर्चलाई सामाजिक सेवामा उपयोग गर्न सकिने सन्देश दिन अभियानमा सहकार्य गरेको उल्लेख गरे ।
सर्जक चौतारी ओखलढुंगाका अध्यक्ष विरेन्द्र ग्याबा तामाङले जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै गाउँबस्तीमा रहेका प्रतिभाशाली सर्जक तथा कलाकारलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले अभियान सुरु गरिएको जानकारी दिए । आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।

प्रतिक्रिया