ओखलढुंगाको विकास गर्ने दायित्व पूरा गर्न सक्दो बढी बजेट ल्याएँ : मन्त्री सुनुवार

भिजन समाचार
0
Shares

कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रदीप सुनुवारले ओखलढुंगाको विकासको दायित्व पूरा गर्न प्रदेशबाट बजेट ल्याएको बताएका छन् । मोलुङ गाउँपालिकाको उन्नाइसौं गाउँसभालाई सम्बोधन गर्दै मन्त्री सुनुवारले आफु ओखलढुंगाको प्रतिनिधित्व गर्ने सांसदसमेत भएकाले जिल्लाका योजनलाई प्राथमिकतामा राखेर बजेट ल्याएको बताएका हुन् ।

मन्त्रीले आफ्नो जिल्लामा बढी बजेट लगेको विषयमा प्रदेशस्तरमा विरोध भए पनि मन्त्रीले आफ्नो जिल्लाका योजनालाई प्राथमिकता दिनु स्वभाविक हुने उनको भनाइ थियो । `ओखलढुंगाको विकास गर्नु मेरो दायित्व हो भनेर यसवर्ष प्रदेशको बजेट निर्माणमा प्राथमिकता दिएँ । आफ्नो क्षेत्रमा बढी बजेट लगेको भनेर आलोचना पनि भयो´ मन्त्री सुनुवारले भने, `मन्त्रीले आफ्नो ठाउँमा बजेट लैजानु नयाँ कुरा होइन । विगतमा पनि मन्त्रीहरुले त्यसै गर्दथे । हाम्रो जस्तो अस्थिर राजनीति भएको ठाउँमा छोटो समय पद प्राप्त हुने भएकाले आफू पुगेका बेला आफ्ना ठाउँमा बढी बजेट लैजानु सामान्य नै भइसक्यो । मैले त्यसैलाई निरन्तरता दिएर ओखलढुंगामा सक्दो बढी बजेट ल्याएँ ।´ प्राप्त बजेटलाई सदुपयोग गरेर दिगो विकासका काम गर्न उनले स्थानीय तहलाई सुझाए ।

संविधान जारी भएको र संघीयता कार्यान्वयनमा आएको दशक हुँदा पनि आवश्यक ऐन कानून र कार्यविधि बनिनसक्दा नागरिकले संविधान प्रदत्त अधिकार उपभोग गर्न नपाएको उनको भनाइ थियो ।

लोकप्रियताका लागि नभइ नीतिगत सुधारका कामलाई स्थानीय सरकारले प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

पालिका अध्यक्ष उत्तम राईको अध्यक्षतामा भएको गाउँसभाले आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट पारित गरेको छ ।