ओखलढुंगा । नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर योङ कम्युनिष्ट लिग (वाइसीएल) नेपाल ओखलढुंगाले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग गरेको छ ।
वाइसीएल ओखलढुंगाले बिहीबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सार्वजनिक रूपमा माफी माग्न तथा नैतिक जिम्मेवारीका आधारमा पदबाट राजीनामा दिनुपर्ने माग गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट वाइसीएलका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामजी तामाङ र जिल्ला संगठन समितिका संयोजक डोलबहादुर सुनुवार लगायतले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा प्रधानमन्त्रीले जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपाल–भारत सीमा विवादसँग सम्बन्धित विषयमा दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाइएको छ । उक्त अभिव्यक्तिले राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको भावना कमजोर बनाएको दाबी गरिएको छ ।
वाइसीएलले प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेको व्यक्तिको अभिव्यक्तिले आम नागरिकमा भ्रम, आशंका र असन्तुष्टि पैदा गरेको उल्लेख गरेको छ । साथै राष्ट्रिय हितसँग जोडिएका विषयमा सरकार प्रमुख अझ जिम्मेवार र संवेदनशील हुनुपर्ने बताइएको छ ।
संगठनले विवादास्पद भनिएको अभिव्यक्ति तत्काल फिर्ता लिन, नेपाली जनतासमक्ष स्पष्ट धारणा राख्दै माफी माग्न तथा नैतिक जिम्मेवारी वहन गर्दै प्रधानमन्त्री पदबाट राजीनामा दिन आग्रह गरेको छ ।
ज्ञापनपत्रमा प्रधानमन्त्री तथा उनको दलले विगतदेखि सार्वजनिक धारणा निर्माण गर्ने शैलीप्रति समेत प्रश्न उठाइएको छ । साथै संघीय लोकतान्त्रिक गणतन्त्र, संसद् र संवैधानिक संस्थाप्रति सम्मानजनक व्यवहार गर्न सरकार प्रमुखलाई आग्रह गरिएको छ ।
वाइसीएलले राष्ट्रिय हित, राष्ट्रियता र जनजीविकासँग सम्बन्धित विषयमा निरन्तर खबरदारी जारी राख्ने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया