पारदर्शी र जवाफदेही सेवा प्रवाह गर्न कार्यालय प्रमुखलाई सांसद पोखरेलको निर्देशन

भिजन समाचार
134
Shares

ओखलढुंगा । संघीय सांसद विश्वराज पोखरेल ले जिल्लाका सरकारी कार्यालयहरूलाई गुनासोरहित, छिटोछरितो र प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यालय प्रमुखहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नागरिकबाट सरकारी तथा विकासे कार्यालयको काममा ढिलासुस्ती भएको गुनासो व्यापक रूपमा आएको बताए ।

सांसद पोखरेलले सेवा प्रवाहमा देखिएको ढिलाइ तत्काल सुधार गर्न आग्रह गर्दै आगामी दिनमा नागरिकमैत्री सेवा प्रदान गर्न जोड दिए । उनले पारदर्शिता, जवाफदेहिता र सुशासन कायम गर्नुपर्ने आवश्यकता औंल्याए ।

कार्यक्रममा उनले जिल्लामा सञ्चालन भइरहेका जलविद्युत् आयोजनाहरूको लापरबाहीप्रति पनि असन्तुष्टि जनाए । सम्झौता अनुसार काम समयमै सम्पन्न नहुँदा प्रभावित नागरिकले सास्ती भोग्नुपरेको उल्लेख गर्दै यस विषयमा कडा कदम चालिने चेतावनी दिए ।

अन्तरक्रियामा सहभागी कार्यालय प्रमुखहरूले आ–आफ्नो कार्यालयको प्रगति, अवस्था र समस्या प्रस्तुत गरेका थिए । सांसद पोखरेलले जिल्लाका समस्याहरू समाधान गर्न आफूले पहल गर्ने प्रतिबद्धता समेत जनाएका छन् । निर्वाचित भएपछि पहिलाे पटक सांसद पाेखरेले जिल्लाका विभिन्न स्थानिय तहका नागरिक सँग प्रत्यक्ष भेटघाट र समस्याबारे जानकारी लिइरहेका छन् ।

नागरिक सँग भेटघाट गर्नेक्रममा खिजिदेम्बाकाे चण्डेश्वरी माविका प्रधानाध्यापक सन्तबहादुर मगरलाई दुर्व्यवहार गरेकाे विषयले पाेखरेल आलाेचित बनेका छन् । यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद पाेखरेलकाे चाैतर्फी आलाेचना भएपछी उनले सार्वजनिक रुपमा माफी माग्नु परेकाे थियाे ।