ओखलढुंगा । संघीय सांसद विश्वराज पोखरेलले चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई गेटमा स्वागत गर्न नआएको भन्दै थर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका बेला प्रअ मगरले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।
प्रअ मगरका अनुसार सांसद पोखरेल विद्यालयमा आएको विषयमा आफूलाई जानकारी नै नभएको बताएका छन् । उनले मागपत्र तयार गर्ने क्रममा व्यस्त रहेका कारण सांसद विद्यालयभित्र प्रवेश गरिसकेको थाहा नपाएको स्पष्ट पारे ।
“मागपत्र बनाउन करिब डेढ घण्टा लाग्यो, बीचमा तीन पटक बत्ती गएको थियो । त्यही क्रममा उहाँ भित्र आइसक्नुभएको रहेछ, मलाई थाहा भएन,” उनले भने ।
उनका अनुसार विद्यालयले सांसदको स्वागतका लागि आवश्यक सम्पूर्ण तयारी गरेको थियो । कार्यक्रममा प्रयोग गर्न खादा र माला समेत तयार पारिएको उनले जानकारी दिए ।
“छोरीलाई बिहानैदेखि फूल खोज्न लगाएको थिएँ, गाउँमा फूलको अभाव थियो । साना फूल टिपेर माला बनाएको थिएँ । सम्मान नगर्ने भए त्यो माला किन बनाउँथेँ र?” उनले भने ।
विद्यालयमा औपचारिक कार्यक्रम गर्ने प्रारम्भिक योजना रहे पनि पछि कार्यक्रम स्थगित भएको सूचना पाएपछि आफूहरू मागपत्रसहित सांसदलाई भेट्न जाने तयारीमा रहेको उनले बताए । तर त्यसअघि नै विवाद उत्पन्न भएको उनको भनाइ छ ।
उक्त भिडियो सार्वजनिक भएपछि सांसद पोखरेलको व्यवहारप्रति चौतर्फी आलोचना भइरहेको छ । भिडियाेमा पाेखरेलले मगरलाई माननिय आउदा बेवास्ता गर्ने? भन्दै झपारेकाे स्पस्ट सुन्न कसिन्छ । यस घटनाले जनप्रतिनिधिको आचरण, संवादको अभाव र वास्तविक अवस्थाबारे व्यापक बहस सिर्जना गरेको छ । यसैबीच शिक्षक महासंघले विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाएको छ भने सांसद पोखरेलले पनि विज्ञप्तिमार्फत् माफी मागेका छन् ।
भिडियाे ताेडमाेड गरि सामाजिक संजालमा पाेखरेल विरुद्ध प्रचारप्रसार गरिएकाे भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी खिजिदेम्बाले ध्यानाकर्षण भएकाे जनाएकाे छ । पाेखरेल राष्ट्रिय स्वतन्त्र पार्टी बाट निर्वाचित भएका हुन् । सांसद पाेखरेलले प्रधानाध्याक प्रति गरेकाे दुर्व्यवहारले उनकाे चाैतर्फी आलाेचना भइरहेकाे छ ।
भिडियाे यहाँ छ https://www.facebook.com/share/v/1Ns22MQGGJ/

प्रतिक्रिया