ओखलढुंगा । प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेलले एक प्रधानाध्यापकलाई दुर्व्यवहार गरेकाे भिडियो भाईरल र चाैंतर्फी आलोचना बढेपछि माफि मागेका छन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडियो प्रति खेद व्यक्त गर्दै सांसद पाेखरेलले क्षमायाचना गरेका छन् ।
संघीय संसदको बैठक केही समयका लागि स्थगित भएको अवसरमा जिल्लाबासीसँग प्रत्यक्ष भेटघाट, अन्तरक्रिया तथा छलफल गर्ने उद्देश्यले पाेखरेल खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माध्यमिक विद्यालय पुगेका थिए । उक्त विद्यालयका प्रधानाध्यापक सन्ताेष मगरले बेवास्ता गरेकाे बताउदै झपारेकाे भिडियो सामाजिक संजाल भाईरल बनेकाे छ ।
पाेखरेलका अनुसार स्थानीय तहका कार्यालय, संस्था तथा सार्वजनिक सेवाको वास्तविक अवस्था बुझ्ने क्रममा भएको घटनाको भिडियो सामाजिक सञ्जालमा अपूर्ण सन्दर्भसहित प्रस्तुत हुँदा वास्तविकता विकृत हुन पुगेको हो । केही क्षणका दृश्य मात्र काटछाँट गरी सार्वजनिक गरिँदा घटनाको पूर्ण परिप्रेक्ष्य नआएको उनले उल्लेख गरेका छन् ।
यद्यपि सार्वजनिक जीवनमा रहँदा आफ्नो बोली, व्यवहार र संयम अझ उच्च स्तरको हुनुपर्ने स्वीकार गर्दै उनले आफ्नो अभिव्यक्ति वा व्यवहारबाट कसैको आत्मसम्मान, भावना वा मर्यादामा चोट पुगेको भए हृदयदेखि क्षमायाचना गरेका छन् ।
सांसद पोखरेलले आफू जनताको सेवाका लागि राजनीतिमा आएको उल्लेख गर्दै विगत, वर्तमान र भविष्यमा पनि जनताको सेवककै रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साथै सार्वजनिक पदसँग जोडिएको मर्यादा, संयम र उत्तरदायित्वलाई गहिरोसँग आत्मसात् गर्ने बताएका छन् ।
यस घटनाबाट पार्टी, शुभेच्छुक, विद्यालय परिवार, स्थानीय समुदाय तथा आम जनसमुदायमा परेको असहजताप्रति उनले विनम्रतापूर्वक क्षमा माग्दै आगामी दिनमा अझ संयमित, जिम्मेवार र संवादमुखी भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया