छैटौँ जिल्ला सभाबाट १६ बुँदे नीतिगत निर्णय


ओखलढुंगा । जिल्ला समन्वय समितिको आयोजनामा बुधबार सम्पन्न छैटौँ जिल्ला सभाले विकास र सुशासनलाई केन्द्रमा राख्दै १६ बुँदे नीतिगत निर्णय अनुमोदन गरेको छ । सभाले आगामी योजना निर्माण, कार्यान्वयन र समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित विभिन्न नीतिगत विषयहरू तय गरेको हो ।

सभाबाट पारित निर्णय अनुसार सङ्घीय शासन प्रणालीको सुदृढीकरण गर्दै तहगत योजना प्रणालीबीच अन्तरसम्बन्ध कायम गर्ने, उत्पादनशील तथा रोजगारीमूलक आयोजनालाई उच्च प्राथमिकता दिने र समावेशी तथा न्यायपूर्ण वितरण प्रणाली अवलम्बन गर्ने नीति लिइएको छ । साथै विकास आयोजना छनोट गर्दा सामाजिक–आर्थिक लाभसँगै जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलन क्षमतामा वृद्धि गर्ने योजनामा जोड दिइनेछ ।

त्यसैगरी, प्राकृतिक, सांस्कृतिक तथा धार्मिक स्थलहरूको पर्यटन प्रवद्र्धनका लागि संस्थागत पहललाई प्राथमिकता दिने, स्थानीय सीप र प्रविधिलाई आधुनिक प्रविधिसँग जोड्ने तथा अपाङ्गता रोकथाम र पुनःस्थापना कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्ने निर्णय गरिएको छ । युवाहरूलाई सीप विकास मार्फत सशक्त बनाउने र समाजका सबै क्षेत्रमा अघि बढाउने नीति पनि सभाले तय गरेको छ ।

सभाले दिगो र सन्तुलित विकासलाई आधार मानेर योजना तर्जुमा गर्ने, सामाजिक न्याय प्रवद्र्धन गर्ने आयोजनालाई प्राथमिकता दिने तथा औद्योगिकीकरणबाट वातावरणमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै वातावरणमैत्री योजना कार्यान्वयन गर्ने निर्णय गरेको छ । बहुवर्षीय आयोजना सञ्चालन मार्फत रोजगारी सिर्जना गर्ने, शिक्षामा भएको लगानीलाई प्रभावकारी बनाउँदै गुणस्तरीय शिक्षामा जोड दिने र श्रमशक्तिको दक्षता अभिवृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने नीति पनि पारित भएको छ ।

यस्तै, बजारमुखी कृषि योजनाहरू निर्माण गर्ने, स्थानीय श्रम परिचालनलाई प्राथमिकता दिने तथा जिल्लामा सञ्चालनमा रहेका रुग्ण आयोजनाहरू समयमै सम्पन्न नगरेमा निर्माण व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ । सभाले नापी कार्यालयको भवन निर्माणका लागि आवश्यक जग्गाको भू–उपयोग स्वामित्व हस्तान्तरण गर्ने तथा सिद्धिचरण नगरपालिका मा तिलगंगा सर्जिकल आँखा केन्द्रको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।

यसैबीच, आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाका स्थानीय तह र सरकारी कार्यालयहरूले सञ्चालन गरेका योजना तथा कार्यक्रमहरूको अर्धवार्षिक समीक्षा पनि गरिएको छ । समीक्षा कार्यक्रममा चालु आर्थिक वर्षको पहिलो छ महिनामा भएका प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल भएको जिल्ला समन्वय अधिकारी शान्ता कडरियाले जानकारी दिइन् ।

जिल्लामा सुशासन, समृद्धि र विकास निर्माणको गति तीव्र बनाउँदै पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले अर्धवार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईले बताए ।