उपसभामुखमा रुबी कुमारी ठाकुर निर्वाचित

भिजन समाचार
6
Shares

काठमाडौँ । प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी कुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार सम्पन्न निर्वाचनमा उनी स्पष्ट बहुमतसहित उपसभामुख पदमा विजयी भएकी हुन् ।

आज प्रतिनिधि सभामा भएको मतदानमा ठाकुरको पक्षमा २२९ मत परेको छ । उनका विपक्षमा ५ मत परेको थियो भने २२ सांसद तटस्थ बसेका थिए । कुल २५६ सांसद सहभागी भएको मतदान प्रक्रियामा ठाकुरले प्रभावशाली समर्थन प्राप्त गरेकी हुन् ।

उपसभामुख पदका लागि भएका प्रतिस्पर्धामा राप्रपाकी उम्मेदवार सरस्वती लामाको प्रस्ताव बहुमतले अस्वीकृत भएपछि ठाकुर निर्वाचित भएकी हुन् ।

श्रम संस्कृति पार्टीबाट प्रतिनिधित्व गर्ने ठाकुर समानुपातिक निर्वाचन प्रणाली मार्फत संसदमा पुगेकी हुन् । उनी नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने ‘जेनजी’ सांसदका रूपमा चिनिन्छिन् ।

उनको निर्वाचनसँगै प्रतिनिधि सभाको नेतृत्व संरचना थप पूर्ण भएको छ भने संसद सञ्चालनमा सहजीकरण हुने अपेक्षा गरिएको छ ।