काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आइतबार अनुसन्धानका लागि ५ दिन म्याद थप गरेको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन् । अदालतको आदेशअनुसार चैत २१ गतेदेखि लागू हुने गरी हिरासतमा राखी आवश्यक अनुसन्धान तथा अन्य प्रक्रिया अगाडि बढाइनेछ ।
ज्यान सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको यस प्रकरणमा दुवै जनाको बयान सकिए पनि थप प्रमाण संकलन तथा अनुसन्धानका कार्य बाँकी रहेको जनाइएको छ ।
चैत १४ गते पक्राउ परेका उनीहरूलाई पहिलो पटक ५ दिन, दोस्रो पटक २ दिन र आइतबार तेस्रो पटक पुनः ५ दिन म्याद थप गरिएको हो ।
यसबीच दुवै जनाले आफूहरूलाई गैरकानुनी रूपमा पक्राउ गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् । उक्त रिटमाथि आइतबार सुनुवाइ भई ‘हेर्दाहेर्दै’मा राखिएको छ ।
भदौ २३ गते भएको जेनजी आन्दोलनको छानबिनका लागि गठित जाँचबुझ आयोगले अनुसन्धान तथा अभियोजन गर्न सिफारिस गरेपछि मन्त्रिपरिषद्ले चैत १३ गते प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही निर्णयपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।

प्रतिक्रिया