रुम्जाटार अस्पताल सुदृढीकरणमा जोड : स्वास्थ्य मन्त्री लिम्बुलाई ध्यानाकर्षण


ओखलढुंगा । कोशी प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुसहितको टोलीले जिल्लाका स्वास्थ्य संस्थाको अनुगमन गर्दै सेवा सुधारका पक्षमा ध्यान दिएको छ । रुम्जाटारस्थित स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र आयुर्वेद केन्द्रको अवलोकन गर्दै मन्त्रीले सेवा प्रवाह, जनशक्ति, पूर्वाधार र औषधि आपूर्तिबारे जानकारी लिएका हुन् ।

अनुगमनका क्रममा स्वास्थ्य कार्यालय प्रमुख मनिषा मोक्तान र अस्पताल प्रमुख डा. अमृता श्रेष्ठले तालिम विस्तार, जीर्ण भवन मर्मत, जनशक्ति व्यवस्थापन र अक्सिजन प्लान्ट मर्मतसहित विभिन्न माग राखेका छन् । साथै एम्बुलेन्स, ल्याव उपकरण, स्टोर व्यवस्थापन र स्टाफ क्वाटरका लागि बजेट माग गरिएको छ ।

मन्त्री लिम्बुले स्वास्थ्य सेवा सुधार आवश्यक रहेको स्वीकार्दै माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । उनले बिरामीमैत्री सेवा र न्यूनतम सेवा मापदण्ड कडाइका साथ लागू गर्न निर्देशन दिएका छन् । स्वास्थ्य सचिव डा. यदुचन्द्र घिमिरे सहितको टोली अनुगमनका क्रममा ओखलढुंगा आएको हो ।