काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा डोलप्रसाद अर्याल (डिपी) निर्विरोध निर्वाचित भएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकले उनको एकल उम्मेदवारीका आधारमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।
निर्वाचनपछि रवि लामिछानेले उनलाई अँगालो मार्दै बधाई दिएका थिए । सभामुख पदका लागि अन्य दलबाट उम्मेदवारी नपरेपछि अर्याल निर्विरोध चयन भएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी को बलियो उपस्थितिका कारण विपक्षी दलहरूले प्रतिस्पर्धा नगरेको बताइएको छ । प्रतिनिधिसभामा रास्वपाको प्रभावशाली संख्या रहेको छ ।
छोटो समयमै राजनीतिक उचाइ हासिल गरेका अर्याल पार्टी स्थापनापछि केन्द्रीय सदस्य तथा उपसभापति हुँदै अघि बढेका थिए । यसअघि रवि लामिछानेको अनुपस्थितिमा उनले कार्यवाहक सभापतिको जिम्मेवारी समेत सम्हालेका थिए ।
२०४९ सालतिर मजदुरीका लागि काठमाडौं आएका अर्यालले रेस्टुरेन्ट, पर्यटन र व्यवसाय क्षेत्रमा काम गर्दै अनुभव बटुलेका थिए । पछि जापान गएर अध्ययन तथा अनुभव हासिल गरेका उनी नेपाल फर्किएपछि विभिन्न व्यवसायमा सक्रिय भएका थिए ।
सभामुख बनेसँगै अब उनी दलीय पदबाट अलग रहँदै व्यवस्थापिकाको नेतृत्व गर्नेछन् ।

प्रतिक्रिया