“३६ वर्षसम्म सुरक्षाकर्मीलाई नै हतकडी लगाइएको रहेछ” गृहमन्त्री गुरुङ

भिजन समाचार
14
Shares

काठमाडाैँ । गृहमन्त्री सुधन गुरुङ ले विगत लामो समयसम्म सुरक्षाकर्मीलाई प्रभावकारी रूपमा काम गर्न नदिएको संकेत गरेका छन् । आइतबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले ३६ वर्षसम्म प्रहरी प्रशासनमाथि विभिन्न प्रकारका प्रतिबन्ध लगाइएको जस्तो अवस्था रहेको उल्लेख गरेका हुन् ।

“३६ वर्षसम्म सुरक्षाकर्मीलाई नै हतकडी लगाइएको रहेछ,” गृहमन्त्री गुरुङले फेसबुकमा लेखेका छन् । उनको उक्त अभिव्यक्तिले सुरक्षा संयन्त्रको भूमिका र विगतका अभ्यासबारे बहस सिर्जना गरेको छ ।

गृहमन्त्री गुरुङको निर्देशनपछि पछिल्लो समय प्रहरीले ठूला भ्रष्टाचार सम्बन्धी फाइलहरू खोल्न थालेको छ । उनले पदभार सम्हालेकै रात पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

त्यसयता भ्रष्टाचारमा संलग्न ठानिएका राजनीतिक तथा व्यावसायिक क्षेत्रका विभिन्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्दै अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको छ । प्रहरी प्रशासनले गुन्डागर्दी तथा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूविरुद्ध सञ्चालन गरिएको अभियानलाई निरन्तरता दिएको जनाएको छ ।

यसैबीच गृहमन्त्री गुरुङको पछिल्लो अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आउन थालेका छन् । कतिपयले यसलाई सुरक्षा संयन्त्रलाई स्वतन्त्र रूपमा काम गर्न दिने सकारात्मक कदमका रूपमा लिएका छन् भने केहीले यसले शक्ति केन्द्रीकरणको संकेत गरेको टिप्पणी गरेका छन् ।