माटोमा भोट दिएको निहुँमा कांग्रेस नेताद्वारा स्थानीय कुटपिट, मेलमिलापमा टुंगियो विवाद

भिजन समाचार
1.1k
Shares
मेलमिलाप पछी सामुहिक तस्वीर।

ओखलढुंगाकाे मानेभन्ज्याङ गाउँपालिकामा निर्वाचनका क्रममा ‘माटो’ चुनाव चिन्हमा भोट दिएको विषयलाई लिएर एक स्थानीयमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ ।

हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीलाई मत दिएको आरोपमा मानेभन्ज्याङ गाउँपालिका–१ का ६० वर्षीय अशोक राईले सोही वडाका ५८ वर्षीय रामबली राईमाथि बिहीबार साँझ कुटपिट गरेको बताइएको छ ।

पूर्व गाविस अध्यक्ष समेत रहेका कांग्रेस नेता अशोक राईको कुटपिटबाट रामबली राई सामान्य घाइते भएका थिए ।

घटनापछि शुक्रबार बिहान स्थानीयबासीको सहभागीतामा दुवै पक्षबीच आपसी समझदारी मार्फत मेलमिलाप गरी विवाद समाधान गरिएको श्रम संस्कृति पार्टीका उम्मेदवार डा. उद्धव राईले जानकारी दिएका छन् । घटनाबारे उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका थिए ।

डा. राईले आफूलाई मन परेको उम्मेदवार तथा पार्टीलाई मत दिनु नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै यस्ता घटना निन्दनीय रहेको बताएका छन् । आगामी दिनमा यस्ता गतिविधि दोहोरिएमा कडा कदम चालिने उनले चेतावनी दिएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार घटनाबारे कुनै औपचारिक उजुरी परेको छैन ।

स्थानीय तहमा देखिने यस्ता विवादले निर्वाचनपछिको सामाजिक सद्भावमा असर पार्न सक्ने भन्दै सरोकारवालाहरूले संयमता अपनाउन आग्रह गरेका छन् ।