प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ ओखलढुंगामा प्रतिस्पर्धा गरेका १५ जना उम्मेदवारमध्ये ११ जनाको जमानत जफत भएको छ ।
सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने कानुनी प्रावधानअनुसार अधिकांश उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसक्दा जमानत जफत भएको हो ।
जिल्ला निर्वाचन कार्यालय ओखलढुंगाका सूचना अधिकारी बिदुरकुमार बस्नेतका अनुसार यस निर्वाचन क्षेत्रमा १ लाख २२ हजार ७१५ मतदाता रहेकामा ५९ हजार ७९ मत खसेको थियो । खसेको मतमध्ये ५५ हजार ५३५ मत सदर र ३ हजार ३५६ मत बदर भएको थियो ।
सदर मतको १० प्रतिशत करिब ५ हजार ५५४ हुन आउँछ । यो मतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। सोही आधारमा १५ उम्मेदवारमध्ये ११ जनाको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका विश्वराज पोखरेल १३ हजार ९५३ मत ल्याउँदै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुईटेलले १३ हजार ९४८ मत प्राप्त गरेका छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टीका अम्बिरबाबु गुरुङले ११ हजार २९६ र नेकपा एमालेकी अस्मिता थापाले १० हजार ७२० मत प्राप्त गरेका छन् । यी चार जना उम्मेदवारले मात्रै सदर मतको १० प्रतिशतभन्दा बढी मत ल्याएका कारण जमानत जोगाएका छन् ।
मत परिणामअनुसार धेरै उम्मेदवारले न्यून मत प्राप्त गरेका छन्। स्वतन्त्र उम्मेदवार नारनकाजी तामाङले १८, मितेरी पार्टी नेपालका कुमारबहादुर तामाङले २९, नेपाल मजदुर किसान पार्टीकी सविना प्रजापतीले ४०, स्वतन्त्र उम्मेदवार विक्रम दाहालले ५३, राष्ट्रिय जनमोर्चाका शेरबहादुर खत्रीले ६२ र जनता समाजवादी पार्टीका नेत्रबहादुर नेम्वाङले ९२ मत प्राप्त गरेका छन् ।
यस्तै समावेशी समाजवादी नेपालकी पिङकी राईले १००, राप्रपा नेपालका डिकप्रसाद बास्तोलाले १७८, मंगोल नेसन अर्गनाइजेशनका बजेन्द्र वाम्बुले राईले २२३, उज्यालो नेपाली पार्टीकी किशोरी कार्कीले ९६५ र श्रम संस्कृति पार्टीका डा. उद्धवकुमार राईले ३ हजार ८५८ मत प्राप्त गरेका छन् ।
निर्वाचन कार्यालयका अनुसार सदर मतको न्यूनतम १० प्रतिशत मत ल्याउन नसक्दा यी ११ जना उम्मेदवारको जमानत जफत भएको हो ।

प्रतिक्रिया