जिल्लामा पछिल्लो समय आत्महत्याका घटनाहरू बढ्दै गएको देखिएको छ । माघ महिनामा मात्रै विभिन्न स्थानमा भएका घटनाले स्थानीय समुदायलाई चिन्तित बनाएको छ । प्रहरीका अनुसार पछिल्ला दुई आर्थिक वर्षमा ५४ जनाले आत्महत्या गरेर ज्यान गुमाएका छन् ।
माघ २५ गते दिउँसो सिद्धिचरण नगरपालिका–३ बाँसबोटका चन्द्रपाल राईका १४ वर्षीय छोरा सिम्रन राई घरबाट निस्किएपछि साँझसम्म पनि नफर्किएपछि परिवार र छरछिमेकीले खोजतलास गरेका थिए । खोजी गर्ने क्रममा घरबाट करिब पाँच सय मिटर टाढा छिमेकीको बारीमा रहेको आँपको रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।
त्यसको भोलिपल्ट मोलुङ गाउँपालिका–५ का भिमबहादुर दर्जीका करिब ३५ वर्षीय छोरा खिलाबहादुर दर्जी मृत अवस्थामा फेला परे । उनी मोलुङ–४ हर्कपुरको प्रतिक्षालयमा झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
त्यस्तै सोही महिनाको ९ गते एकै दिन जिल्लाका दुई स्थानमा आत्महत्याका घटना भएका थिए । खिजिदेम्बा गाउँपालिका–७ रावादोलुका ३३ वर्षीय प्रदीप भुजेल र रुम्जाटारका २८ वर्षीय प्रदीप क्षेत्रीले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगा का अनुसार माघ महिनामा मात्रै आठ जनाले आत्महत्या गरेका छन् । पछिल्ला दुई आर्थिक वर्षमा ३४ पुरुष र २० महिला गरी कुल ५४ जनाले ज्यान गुमाएका छन् । प्रहरी निरीक्षक विक्रम भट्टराईका अनुसार जिल्लामा विशेषगरी झुण्डिएर आत्महत्या गर्नेको संख्या उच्च छ । उनले सचेतना अभिवृद्धि, मनोसामाजिक परामर्श र समयमै उपचारको पहुँच विस्तार गर्न सके घटनालाई न्यूनीकरण गर्न सकिने बताए ।
तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा २६ जनाले आत्महत्या गरेका थिए । तीमध्ये १३ महिला र १२ पुरुष झुण्डिएर तथा एक जनाले विष सेवन गरेका थिए । चालु आर्थिक वर्षमा हालसम्म २९ जनाले ज्यान गुमाइसकेका छन् । यस अवधिमा चार महिला झुण्डिएर, दुई महिला विष सेवनबाट, १९ पुरुष झुण्डिएर, एक पुरुष विष सेवनबाट तथा दुई बालक र एक बालिका झुण्डिएर मृत्यु भएको विवरण छ ।
प्रहरी विश्लेषणअनुसार घरायसी कलह, मानसिक तथा आर्थिक तनाव, सामाजिक दबाब र सम्बन्धगत समस्या आत्महत्याका प्रमुख कारणका रूपमा देखिएका छन् । जिल्लामा मनोसामाजिक परामर्श, विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिइएको बताइएको छ ।
विशेषज्ञहरूका अनुसार मानसिक स्वास्थ्यसम्बन्धी समस्या लुकाएर राख्ने प्रवृत्ति, उपचारप्रति पहुँचको अभाव र सामाजिक संकोचले जोखिम बढाउने गरेको छ । त्यसैले समुदाय, परिवार र सरोकारवाला निकायबीच समन्वय गरी समयमै सहयोग र परामर्श उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याइएको छ ।

प्रतिक्रिया