ओखलढुंगा । जिल्ला अस्पताल रुम्जाटारमा जडान गरिएको ७२ लाख रुपैयाँ लागतको अक्सिजन प्लान्ट दुई वर्षदेखि ठप्प छ । २०७८ साल असोजमा सञ्चालनमा आएको यो प्लान्ट करिब दुई वर्ष चलेपछि बिग्रिएको हो ।
अस्पताल प्रमुख डा. रवि कुमार यादवका अनुसार चट्याङ र विद्युत आपूर्तिमा देखिएको अनियमितताले उपकरणमा असर पुगी प्लान्ट बिग्रिएको हो । तर, बजेट अभावका कारण मर्मत सम्भव नभई लामो समयदेखि प्लान्ट ठप्प रहँदै आएको उनले बताए ।
प्लान्ट प्रयोगविहीन भएपछि अस्पतालले हाल ओखलढुंगा सामुदायिक अस्पतालबाट अक्सिजन खरिद गरेर आपूर्ति गर्दै आएको छ । यसले खर्च बढाउनुका साथै सेवाग्राहीलाई थप असुविधा पु¥याएको छ । मर्मतका लागि प्रदेश सरकारसँग पटक–पटक माग गरिए पनि अझै टुंगो लाग्न सकेको छैन ।
अस्पताल व्यवस्थापन समितिको उदासीनता समेत देखिएको स्थानीयको आरोप छ । व्यवस्थापन समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराईले प्राविधिक दरबन्दी नहुँदा र बजेटको अभावकै कारण प्लान्ट सञ्चालनमा समस्या आएको स्वीकार गरे । उनले मर्मत गरी प्लान्ट पुनः सञ्चालनमा ल्याउने पहल भइरहेको दाबी गरेका छन् ।

प्रतिक्रिया