ओखलढुंगा । ओखलढुंगामा सवारी साधनका सिसामा टाँसिएका कालो स्टिकर हटाउने अभियान तीव्र पारिएको छ । गृह मन्त्रालयको निर्देशनमा देशभर सञ्चालन भइरहेको अभियानअन्तर्गत जिल्लामा बुधबार र बिहीबार गरी ४० भन्दा बढी सवारी साधनबाट कालो स्टिकर हटाइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी सहायक निरीक्षक भेषबहादुर थापाका अनुसार हर्कपुर, मानेभञ्ज्याङ तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय आसपासका क्षेत्रमा सवारी जाँचलाई कडाइ गर्दै कालो स्टिकर हटाउने कार्य अघि बढाइएको हो ।
सवारी साधनमा कालो सिसाको प्रयोग बढेसँगै लागूऔषध ओसारपसार, चोरी–डकैती तथा हातहतियारको अवैध ओसारपसारजस्ता आपराधिक गतिविधि हुन सक्ने गुनासो बढेपछि गृह मन्त्रालयको निर्देशनमा देशभर एकैसाथ यो अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीले कानुनविपरीत कालो सिसा तथा स्टिकर प्रयोग नगर्न सबै सवारीधनी र चालकलाई आग्रह गरेको छv। सुरुका केही दिन सचेतनामूलक रूपमा कालो सिसा हटाउने कार्य गरिए पनि आगामी दिनमा कालो सिसा वा स्टिकर टाँसेको पाइएमा जरिवानासमेत गरिने चेतावनी दिइएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले अभियान जिल्लाका विभिन्न स्थानमा निरन्तर सञ्चालन हुने जनाएको छ ।

प्रतिक्रिया