नेकपा (एमाले) ओखलढुंगा जिल्ला कमिटीले पार्टीको सूर्य चिन्हबाट निर्वाचित तीन जना वडाध्यक्षलाई २४ घण्टे लिखित स्पष्टीकरण सोधेको छ । पार्टीको नीति, सिद्धान्त र जनमतको विपरीत गतिविधिमा संलग्न भएको आरोपमा स्पष्टीकरण सोधिएको हो ।
स्पष्टीकरण सोधिनेमा मोलुङ गाउँपालिका–१ का वडाध्यक्ष कमलबहादुर बानियाँ, मोलुङ गाउँपालिका–६ का वडाध्यक्ष कमल तामाङ र चम्पादेवी गाउँपालिका–७ का वडाध्यक्ष सुरेशकुमार थापा रहेका छन् । उनीहरू एमालेको तर्फबाट निर्वाचित भए पनि केही समयअघि नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेको भन्दै जिल्ला कमिटीले कारबाही प्रक्रिया अघि बढाएको हो ।
एमाले ओखलढुंगाका नवनियुक्त जिल्ला संयोजक हर्कबोल राईका अनुसार पार्टीको झण्डामुनि रहेर जनतासँग मत मागी निर्वाचित भइसकेपछि पार्टी र जनमतको विपक्षमा गतिविधि गर्नु अस्वीकार्य छ । पहिलो चरणमा २४ घण्टे स्पष्टीकरण सोधिएको र त्यसको आधारमा थप निर्णय लिइने उनले बताए ।
शुक्रबार ओखलढुंगा सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एमाले नेताहरूले पार्टी अनुशासन उल्लंघन गर्ने जो–कोहीमाथि आवश्यक कारबाही गरिने स्पष्ट पारेका छन् ।
यसैबीच, नेकपा एमालेका जिल्ला इन्चार्ज यज्ञराज सुनुवारले जिल्ला कमिटी तथा ठूलो संख्यामा नेता–कार्यकर्ताले एमाले छोडेको भन्ने प्रचार निराधार भएको दाबी गरे । उनका अनुसार पार्टी छोडेको भनिएका अधिकांश नेता–कार्यकर्ता पार्टीमै रहेर संगठनात्मक कामकाज र चुनावी गतिविधिमा सक्रिय छन् ।
एमाले त्यागेर नेकपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका अम्बिरबाबु गुरुङ, तत्कालीन अध्यक्ष जीबी खड्का लगायत पार्टी परित्याग गरेका नेताहरूलाई निस्कासन गर्ने तथा निष्क्रिय रहेका कार्यकर्तालाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको एमालेले जनाएको छ ।

प्रतिक्रिया