एमाले नेता कार्की हत्या प्रकरणः १५ वर्षपछि फरार अभियुक्त पक्राउ

भिजन समाचार
144
Shares

नेकपा (एमाले) का नेता छविलाल कार्कीको हत्या प्रकरणमा फरार रहेका अभियुक्त १५ वर्षपछि पक्राउ परेका छन् । हत्या आरोपमा चिशंखुगढी गाउँपालिका–६ निवासी ५३ वर्षीय रामबहादुर राई पक्राउ परेका हुन् ।

सिद्धिचरण नगरपालिका–२, साविक ठूलाछाप गाविसका ४३ वर्षीय कार्कीको हत्या आरोपमा राई लामो समयदेखि फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र प्रहरी चौकी निसंखेको संयुक्त टोलीले उनलाई यही माघ १७ गते पक्राउ गरेको हो ।

पक्राउपछि राईलाई ओखलढुंगा जिल्ला अदालतमा पेश गरिएको र अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विक्रमबहादुर भट्टराईले जानकारी दिए ।

प्रहरीका अनुसार राईविरुद्ध छविलाल कार्कीलाई कुटपिट गरी ज्यान लिएको आरोपमा कर्तव्य ज्यान मुद्दा दर्ता रहेको थियो । कार्कीको हत्या २०६७ साल असार २४ गते भएको थियो । तत्कालीन माओवादी कार्यकर्ताहरूले ठूलाछाप–निसंखे स्थित तारा होटलमा रड र लाठी प्रहार गरी कार्कीको हत्या गरेका थिए ।

उक्त हत्याकाण्डमा संलग्नमध्ये पाँच जनालाई जन्मकैदको फैसला भएको थियो भने केही अभियुक्त साधारण तारेखमा छुटेका थिए ।