नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार चयनप्रति असन्तुष्टि जनाउँदै जिल्ला पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । केन्द्रीय कमिटीले व्यक्तिगत पहुँचकाे आधारमा अस्मीता थापालाई टिकट दिएपछि एमालेमा असन्तुष्टी देखिएकाे हाे । थापा लिखु गाउँपालिकाकी उपाध्यक्ष हुन् ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्ला कमिटीले गरेको छलफल, निर्णय र सिफारिसलाई बेवास्ता गर्दै केन्द्रीय कमिटीले व्यक्तिगत पहुँचकाे आधारमा उम्मेदवार चयन गरेको आरोप लगाउँदै आईतबार संयुक्त प्रेस विज्ञप्ति सार्वजनिक गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियु, अखिल नेपाल महिला संघ र नेपाल खेलकुद महासंघले संयुक्त विज्ञप्ती निकालेर केन्द्रिय कमिटीकाे निर्णयप्रति आपत्ती जनाएका हुन् ।
विज्ञप्तिमा पार्टीको विधि, विधान र सिद्धान्तविपरीत उम्मेदवार चयन गरिएको उल्लेख गर्दै उक्त निर्णय नसच्याएसम्म जिल्ला पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दी जारी राखिने जनाइएको छ । राष्ट्रिय युवा संघ नेपाल ओखलढुंगा जिल्ला अध्यक्ष विवेक तामाङका अनुसार पार्टीको आन्तरिक लोकतन्त्रको अपमान भएको भन्दै बाध्य भएर तालाबन्दीको निर्णय लिनुपरेको हो ।

यसका साथै जिल्ला कमिटीले पनि सर्वसम्मत रूपमा गरिएको निर्णयलाई बेवास्ता गरिँदा पार्टीभित्र गम्भीर असन्तोष र आक्रोश पैदा भएको विज्ञप्ति मार्फत जनाएकाे छ । जिल्ला अध्यक्ष ज्ञान बहादुर खड्का मार्फत हस्ताक्षरित विज्ञप्तीमा जिल्ला कमिटीकाे सिफारिस विपरित बनाईएकाे उम्मेदवारलाई सहयाेग गर्न नसकिने उल्लेख छ । स्थानीय नेता तथा कार्यकर्ताले केन्द्रीय कमिटीको निर्णय पुनरावलोकन गर्न माग गरेका छन् ।
उम्मेदवार चयनको विषयमा बढ्दो विवादले एमाले ओखलढुंगाको संगठनात्मक अवस्था थप जटिल बन्दै गएको छ । एमाले जिल्ला कमिटीले प्रतिनिधी सभा उम्मेदवारका लागि ईश्वर पाेखरेल, अम्बिर बाबु गुरुङ, यज्ञराज सुनुवार, ज्ञान बहादुर खड्का र नानिबाबु बुढाथाेकीकाे नाम सर्वसहमतिले सिफारिस गरेकाे थियाे । उम्मेदवारका लागि थापाकाे नाम जिल्ला कमिटीले सिफारिस नगरेकाे एक नेताले बताए ।

प्रतिक्रिया