राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ओखलढुंगाको लिखु गाउँपालिकामा राजेन्द्र बस्नेतको सभापतित्वमा नयाँ गाउँपालिका कार्यसमिति गठन गरेको छ ।
आगामी निर्वाचनका उम्मेदवार तथा पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) विश्वराज पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न रास्वपाको पहिलो पालिका अधिवेशनबाट बस्नेतको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
अधिवेशनबाट उप–सभापतिमा दीपक कुमार पौडेल, सचिवमा अनिल लामा, सह–सचिवमा मनिष भुजेल र कोषाध्यक्षमा अस्मिता योगी चयन भएका छन् । यससँगै ११ सदस्यीय पालिका कमिटी गठन भएको रास्वपा जिल्ला समिति सभापति कृष्ण थापाले जानकारी दिनुभयो ।
लिखु गाउँपालिकाको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले विकास र समृद्धिमा पछि परेको लिखुलाई अगाडि बढाउन आवश्यक रहेकोमा जोड दिनुभयो । गाउँगाउँमा पुग्दा कृषि उपजले बजार नपाएको तथा कृषि क्षेत्रमा सरोकारवाला निकायबाट पर्याप्त सहयोग नपाएको गुनासो सुन्ने गरेको उल्लेख गर्दै उहाँले उत्पादित कृषि उपजको बजारीकरणमा आफ्नो पहल रहने प्रतिबद्धता जनाउनुभयो ।
कृषिबाट नै समृद्धि हासिल गर्न सकिने भएकाले सो क्षेत्रको प्रवर्द्धनका लागि आफू र पार्टीले थप पहल गर्ने पोखरेलको भनाइ थियो ।
रास्वपाले जिल्लाभर पालिका अधिवेशन तथा जनता भेटघाट कार्यक्रममार्फत संगठन विस्तारलाई तीव्रता दिइरहेको जनाएको छ । यसअघि चिशंखुगढी गाउँपालिकामा ज्ञानेन्द्र बहादुर खड्काको सभापतित्वमा ११ सदस्यीय पालिका कार्यसमिति गठन भइसकेको छ ।

प्रतिक्रिया