रामहरी खतिवडालाई सत्ताको साथः संसदीय सुनुवाई संयुक्त समितिको सभापतिमा निर्विरोध

भिजन समाचार
8
Shares

ओखलढुंगाका सांसद रामहरी खतिवडालाई सत्तारुढ दलले एकपछि अर्को भूमिका दिएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिबाट राजीनामा दिएका खतिवडालाई सत्तारुढ दलहरुकै सहमतिमा संसदीय सुनुवाई संयुक्त समिति सभापतिको जिम्मेवारी दिएका हुन् ।

संसदीय सुनुवाई संयुक्त समितिको सभापतिमा ओखलढुंगाका सांसद रामहरी खतिवडा निर्विरोध निर्वाचित भईसकेका छन् । उक्त समितिका सभापति इश्वरीदेवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समितिको सभापति चयन भएपछि रिक्त रहेको सुनुवाई समितिको सभापतिमा खतिवडाको मात्रै मनोनयन दर्ता भएको हो ।

संघीय निजामती सेवा विधेयमा ‘कुलिङ अफ पिरियड’मा छेडखानी भएपछि राज्य व्यवस्था तथा सुशासन समितिका तत्कालिन सभापति खतिवडाले नैतिकताको आधारमा राजीनामा दिएका थिए ।

राजिनामा दिए लगत्तै उनी संसदीय सुनुवाई समितिको सदस्यमा मनोनित भएका थिए । मनोनित भए लगत्तै सुनुवाई समितिको सभापतिका लागि मनोनयन दर्ता गर्न आव्हन भएकोमा खतिवडाको मात्रै मनोनयन दर्ता भएको हो ।

कुनै जिम्मेवारीमा विवादीत भएपछि पुनः अर्को जिम्मेवारी पाउने सम्भावना कम हुने भएपनि खतिवडाले लामो समय जिम्मेवारी विहिन हुनु परेन । सम्भवतः राजीनामा दिए लगत्तै अर्को जिम्मेवारी पाउने खतिवडा कांग्रेस भित्र पहिलो नेता हुन् ।

पार्टी र सत्ता समिकरण दलहरुले दिएको जिम्मेवारी आफुले अक्षरस पुरा गर्ने खतिवडाले बताए । भिजनसँग कुरा गर्दै खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिमा रहँदा समेत ऐतिहासिक काम  गरेको र अन्य जिम्मेवारी पनि गहन रुपमा लिएर काम गर्ने बताए ।

काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे प्रस्ताव रहेको खतिवडाको मनोयनमा नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला समर्थक रहेका छन् ।

समितिको सभापतिमा मनोनयन दर्ताका लागि प्रकाशित निर्वाचन कार्यक्रम अनुसार बिहीबार अपरान्ह ४ बजेसम्म मनोनयन दर्ता गर्ने समयसिमा तोकिएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए ।