ओखलढुंगा । ओखलढुंगामा ४६ जनाको मोतिबिन्दुको सफल शल्यक्रिया गरिएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालन गरिएका निःशुल्क छनोट शिविरबाट पहिचान भएका तथा उपचारका लागि जिल्ला सामुदायिक आँखा केन्द्रमा आएका बिरामीको शल्यक्रिया गरिएको हो ।
तिलगंगा आँखा प्रतिष्ठान, जिल्ला सामुदायिक आँखा केन्द्र र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा ओखलढुंगाको संयुक्त आयोजनामा शुक्रबार र शनिबार दुई दिन शल्यक्रिया गरिएको जिल्ला सामुदायिक आँखा केन्द्रकी प्रमुख टिका राईले जानकारी दिईन् ।
उनका अनुसार ३४ जनाको फ्याको प्रविधि र ९ जनाको एसआइसिएस प्रविधिबाट मोतिबिन्दुको शल्यक्रिया गरिएको छ । यस्तै, आँखामा मासु पलाएका तीन जनाको समेत सफल शल्यक्रिया गरिएको केन्द्रले जनाएको छ ।
फ्याको प्रविधिबाट सहुलियत शुल्कमा तथा एसआइसिएस प्रविधिबाट निःशुल्क शल्यक्रिया गरिएको हो । तिलगंगा आँखा प्रतिष्ठानका विशेषज्ञ चिकित्सकको टोलीले जिल्लामै शल्यक्रिया गरेको केन्द्रले जनाएको छ ।
जिल्लामै विशेषज्ञ चिकित्सक र आधुनिक प्रविधिबाट शल्यक्रिया हुने व्यवस्था भएपछि पछिल्लो समय फ्याको प्रविधिबाट शल्यक्रिया गराउने बिरामीको संख्या बढ्दै गएको केन्द्रकी प्रमुख राईले बताईन् ।
मोतिबिन्दु अन्धोपनाको प्रमुख कारणमध्ये एक भएकाले समयमै उपचार आवश्यक रहेको केन्द्रले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा नियमित रूपमा निःशुल्क छनोट शिविर सञ्चालन गरी पहिचान भएका बिरामीलाई जिल्लामै शल्यक्रियाको व्यवस्था गर्दै आइएको प्रमुख राईले जानकारी दिईन् ।

प्रतिक्रिया