जन्तरखानी–ठाडेको बुङ आलु प्रमाणीकरणपछि बिक्री सुरु

भिजन समाचार
0
Shares

ओखलढुंगा । ओखलढुंगाको जन्तरखानी–ठाडे क्षेत्रमा उत्पादन हुँदै आएको रैथाने बुङ आलुको प्रमाणीकरणपछि जिल्ला सदरमुकाममा बिक्री सुरु गरिएको छ ।

सिद्धिचरण नगरपालिका–६ स्थित सेतीदेवी अगुवा आलु खेती कृषक समूहमा आबद्ध किसानले पहिलोपटक सदरमुकाममा लाग्ने हटियामा प्याकेजिङ र लेबलिङसहित बुङ आलुको औपचारिक बिक्री सुरु गरेका हुन् । बुधबार सदरमुकामको हटियामा छुट्टै स्टल राखेर बुङ आलु बिक्रीमा राखिएको हो ।

स्थानीय उत्पादनलाई व्यवस्थित बजारीकरण गर्दै जिल्लाकै पहिचान र ब्राण्डका रूपमा विकास गर्ने उद्देश्यले बिक्री सुरु गरिएको कृषक समूहले जनाएको छ ।

बिक्री शुभारम्भ कार्यक्रममा सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतले स्थानीय उत्पादनको प्रवद्र्धन र बजारीकरण मार्फत किसानको आयआर्जन बढाउनुपर्नेमा जोड दिनुभयो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्मराज भट्टराईले प्रमाणीकरण नभएका आलुलाई बुङ आलु भन्दै बिक्री गरेको पाइएमा कारबाही गरिने बताउनुभयो । विगतमा केही किसानले अन्य आलुसमेत बुङ आलुको नाममा महँगो मूल्यमा बिक्री गरेको गुनासो आउने गरेको उहाँको भनाइ छ ।

सिद्धिचरण नगरपालिका–६ का वडाध्यक्ष मेखबहादुर मगरले बुङ आलु उत्पादन गर्न सामान्य आलुको तुलनामा बढी मेहनत र समय लाग्ने भएकाले यसको मूल्य केही बढी भए पनि महत्व र विशेषता छुट्टै रहेको बताउनुभयो ।

बुङ आलु अर्गानिक सर्टिफिकेसन नेपाल बाट प्रमाणित भएको छ । हाल यसको मूल्य प्रतिकिलो एक सय रुपैयाँ तोकिएको छ ।

बुङ आलु उत्पादनका लागि करिब पाँचदेखि सात वर्षसम्म बाँझो रहेको जमिनमा माटोको चपरी काटेर थुप्रो बनाउने र ती थुप्रा पोलेर तयार भएको माटोमा आलु रोप्ने परम्परागत विधि अपनाइन्छ । खेतीका क्रममा बाह्य रासायनिक मल तथा विषादी प्रयोग नगरिने भएकाले यसलाई अर्गानिक उत्पादनका रूपमा बजारमा ल्याइएको हो ।

अर्गानिक उत्पादनसँगै बुङ आलुको मौलिक स्वाद, पौष्टिकता र स्वास्थ्यवर्धक गुणका कारण यसको माग बढ्दै गएको किसानहरूको भनाइ छ । प्याकेजिङ र लेबलिङसहित बजारमा आउन थालेपछि बुङ आलुको पहिचान र उपभोक्ताको विश्वास अझ बढ्ने अपेक्षा गरिएको छ ।

बुङ आलुको प्याकेजिङ तथा लेबलिङका लागि जुटको बोरा, ट्यागिङलगायत सामग्रीमा सिद्धिचरण नगरपालिका, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ ओखलढुंगा र सहयोगी हातहरूको समूह (सहास) नेपालले कृषक समूहलाई सहयोग गरेका छन् ।