ओखलढुंगा । ओखलढुंगा दूध र मासु उत्पादनमा आत्मनिर्भर बनेको छ । जिल्लामा स्थानीय माग धान्ने गरी दूध तथा मासु उत्पादन हुने भएकाले बाहिरी जिल्लाबाट आयात गर्नुपर्ने अवस्था नरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ओखलढुंगाले जनाएको छ ।
केन्द्रका प्रमुख गणेश भट्टराईका अनुसार जिल्लामा वार्षिक १६ हजार ४ सय ६५ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । त्यस्तै, जिल्लामा वार्षिक करिब ३६ लाख ४५ हजार किलोग्राम मासु उत्पादन हुने गरेको उहाँले जानकारी दिए ।
अण्डा उत्पादनमा भने ओखलढुंगा अझै आत्मनिर्भर हुन सकेको छैन । जिल्लामा वार्षिक करिब २९ लाख २९ हजार वटा अण्डा उत्पादन हुने गरेको केन्द्रले जनाएको छ ।
पछिल्लो समय जिल्लाका ग्रामीण क्षेत्रमा पशुपालन व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएको छ । गाई, भैँसी, बाख्रा, बंगुरलगायतका पशुपालनबाट किसानले दूध तथा मासु उत्पादन गर्दै आएका छन् । परम्परागत रूपमा घरायसी प्रयोजनका लागि गरिँदै आएको पशुपालन विस्तार हुँदै व्यवसायिक उत्पादनतर्फ समेत अघि बढ्न थालेको छ ।
पशुपालनबाट नियमित आम्दानी लिन सकिने भएकाले ग्रामीण क्षेत्रमा यो महत्वपूर्ण आर्थिक गतिविधिका रूपमा विकास हुँदै गएको छ । दूध तथा मासुको स्थानीय उत्पादन बढ्दै जाँदा जिल्लाभित्रै बजारको माग पूरा हुनुका साथै किसानले आफ्ना उत्पादन बिक्री गरेर आम्दानी गर्ने अवसरसमेत पाएका छन् ।
केन्द्रका प्रमुख भट्टराईका अनुसार जिल्लामा उत्पादन हुने दूध र मासु पर्याप्त भएकाले अन्य जिल्लाबाट आयात गर्नुपर्ने अवस्था छैन । स्थानीय उत्पादनलाई व्यवस्थित रूपमा बजारसम्म पु¥याउन सके पशुपालनमा संलग्न किसानको आम्दानी अझ बढाउन सकिने उनको भनाइ छ ।
ओखलढुंगा दूध र मासु उत्पादनमा आत्मनिर्भर हुनु कृषि तथा पशुपालन क्षेत्रका लागि सकारात्मक उपलब्धि भएको केन्द्रले जनाएको छ । यद्यपि उत्पादनलाई दिगो र व्यवसायिक बनाउन पशु स्वास्थ्य, उन्नत जातका पशु, गुणस्तरीय दाना, प्राविधिक सेवा तथा बजार व्यवस्थापनमा थप ध्यान दिनुपर्ने आवश्यकता रहेको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया