ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाका नागरिकले काठमाडौं र विराटनगरका तीन ठूला अस्पतालमा उपचार गराउँदा ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । गाउँपालिकाले काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड र नोबेल मेडिकल कलेजसँग स्वास्थ्य उपचार सेवामा सहुलियत उपलब्ध गराउने सम्बन्धमा अस्पताल र गाउँपालिकाले दोहोरो सम्झौता गरेपछि नागरिकले यस्तो सुविधा पाउने भएका हुन् ।
सुनकोशी गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी र केएमसी अस्पतालका प्रशासन प्रमुख नारायण दाहालले सम्झौतामा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार भक्तपुरको दुवाकोटस्थित काठमाडौं मेडिकल कलेज, काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गराउँदा सुनकोशी गाउँपालिकाका नागरिकले विभिन्न सेवामा छुट पाउनेछन् ।
भक्तपुर दुवाकोटस्थित काठमाडौं मेडिकल कलेजमा ओपीडी कार्ड, जनरल बेड, आईसीयू, एचडीयू, सीसीयू, अपरेसन थिएटर, प्रयोगशाला परीक्षण, एक्सरे, अल्ट्रासाउन्ड, डेन्टल एक्सरे, ओपीजी प्यानोरामिक तथा ईसीजी सेवामा ५० प्रतिशत छुट उपलब्ध हुनेछ । सीटी तथा एमआरआई सेवामा २५ प्रतिशतसम्म छुट हुनेछ ।
काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा ओपीडी दर्ता कार्ड निःशुल्क उपलब्ध हुनेछ । त्यस्तै, जनरल बेड, आईसीयू, एचडीयू, सीसीयू, अपरेसन थिएटर, प्रयोगशाला परीक्षण, एक्सरे, अल्ट्रासाउन्ड, डेन्टल एक्सरे तथा ईसीजी सेवामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । सीटी तथा एमआरआई सेवामा २५ प्रतिशतसम्म छुट हुनेछ ।
यसैगरी, विराटनगरस्थित नोबेल अस्पतालमा ओपीडी कार्ड, जनरल बेड, आईसीयू, एचडीयू, सीसीयू, अपरेसन थिएटर, प्रयोगशाला परीक्षण, एक्सरे, अल्ट्रासाउन्ड, डेन्टल एक्सरे तथा ईसीजी सेवामा २० प्रतिशत छुट उपलब्ध हुनेछ । सीटी तथा एमआरआई सेवामा फिल्म शुल्कबाहेक २० प्रतिशत छुट पाइने सम्झौतामा उल्लेख छ ।
छुट सुविधा अन्तर्गत इन्डोस्कोपी, कोलोनोस्कोपी, एनपीएल प्रक्रिया, ईसीएचओ, टीएमटी, होल्टर, एबीपीएम, ईईजी, एनसीटी, एनएसटी, फिजियोथेरापी, ईआरसीपी तथा एमआरसीपीजस्ता सेवामा पनि अस्पतालअनुसार २० देखि ५० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । दाँतको स्केलिङ, आरसीटी, फिलिङ तथा प्रोस्थेसिस सेवामा सामग्रीको लागतबाहेक छुट हुनेछ ।
तर क्याथल्याब सेवा एन्जियोग्राम, एन्जियोप्लास्टी तथा अन्य इन्टरभेन्सन, क्याथल्याबमा प्रयोग हुने सामग्री, स्टेन्ट, गाइड वायर, बेलुन तथा प्रत्यारोपण सेवामा छुट नहुने अस्पतालले जनाएको छ ।
सम्झौतापछि सहुलियत प्राप्त गर्न बिरामीले सुनकोशी गाउँपालिकाबाट जारी गरिएको सिफारिस वा ह्वाट्सएप समूहमा प्राप्त सिफारिस लिएर सम्बन्धित अस्पतालमा जानुपर्ने सुनकोशी गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले बताइन् । सुनकोशीका नागरिकको स्वास्थ्य उपचारका लागि यो सुविधाले निकै ठूलो राहत हुने उनको भनाई छ । ग्रामीण क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पु¥याउने र उपचारका क्रममा लाग्ने आर्थिक भार कम गर्ने अपेक्षासहित गरिएको यो सम्झौताले सुनकोशीका नागरिकलाई काठमाडौं तथा विराटनगरका सुविधासम्पन्न अस्पतालमा उपचार गराउन सहज हुने सुनकोशी गाउँपालिकाले जनाएको छ ।
यो सुविधा प्रत्यक्ष स्वास्थ्य उपचारसँग सम्बन्धित सेवामा मात्र लागू हुनेछ । आईभीएफ, प्लास्टिक सर्जरी, अंग प्रत्यारोपण, कस्मेटिक सर्जरी तथा न्युरो इन्टरभेन्सनलगायतका सेवामा छुट पाइने छैन । त्यसैगरी, क्याबिनमा बसेर उपचार गर्दा तथा इम्प्लान्ट, सर्जिकल सामग्री र उपचारमा प्रयोग हुने उपभोग्य सामग्रीमा पनि छुट लागू हुने छैन ।
कांग्रेस नेता तथा अस्पतालका सञ्चालक डा. सुनिल शर्मा र सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङको रोहबरमा भएको सम्झौताको मुख्य उद्देश्य आर्थिक तथा सामाजिक रूपमा कमजोर नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउनु रहेको बताइएको छ ।
सामाजिक सुरक्षा कोषमा आबद्ध बिरामीलाई प्राथमिकताका साथ उपचार सेवा उपलब्ध गराउने उद्देश्य पनि सम्झौतामा उल्लेख छ ।








प्रतिक्रिया