ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ खनेखर्कमा बोलेरो जीप दुर्घटना हुँदा एक गम्भीरसहित नौ जना घाइते भएका छन् ।
सोमबार बिहान ७ः१५ बजे निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेला भर्न जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो । निशंखे–ओखलढुंगा भित्री कच्ची सडकखण्डअन्तर्गत खनेखर्कमा जीप सडकबाट करिब ३५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
दुर्घटनामा परी सिद्धिचरण नगरपालिका–२ का सरोज आचार्य, मीरा सार्की, उनका एक वर्षीय छोरा रोयन मंग्राती, सबिन आचार्य, सात वर्षीय आयुष मंग्राती, सात वर्षीय प्रशान्त रम्तेल, रमिला नेपाली, उनका छ वर्षीय छोरा प्रबिन मंग्राती र मीना मंग्राती घाइते भएका छन् ।
घाइतेमध्ये मीरा सार्कीको अवस्था गम्भीर रहेको छ भने अन्य आठ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते सबैलाई प्रहरी टोलीले उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल ओखलढुंगा पठाएको छ ।
दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी निशंखे, अस्थायी प्रहरी पोस्ट मिलनचोक, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको ११ सदस्यीय प्रहरी टोलीले उद्धार गरेको थियो ।
जीप चालक चिशंखुगढी गाउँपालिका–६ भदौरे निवासी ३२ वर्षीय सबिन मगर दुर्घटनापछि फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको छ भने दुर्घटनाग्रस्त बोलेरो घटनास्थलमै रहेको छ ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया