ओखलढुंगा । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि जारी कोशी प्रदेशस्तरीय खेलकुद छनोट प्रतियोगितामा ओखलढुंगाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन् । प्रतियोगितामा ओखलढुंगाले चार स्वर्ण, दुई रजत र एक कास्यसहित सात पदक जितेको हो ।
फुलकन्ट्याक कराते र बक्सिङ विधामा प्रतिस्पर्धा गरेका खेलाडीमध्ये फुलकन्ट्याक करातेतर्फ मनिषकुमार कार्की, नवराज थापा, रिया बस्नेत र रूपा मगरले स्वर्ण पदक जितेका छन् ।
मनिषकुमार कार्कीले पुरुष ७० केजी, नवराज थापाले पुरुष ६० केजी, रिया बस्नेतले महिला ६० केजी र रूपा मगरले महिला ४५ केजी तौल समूहमा प्रथम स्थान हासिल गरेका हुन् ।
त्यस्तै, फुलकन्ट्याक करातेकै महिला ५० केजी तौल समूहमा सृष्टि अधिकारी र पुरुष ५६ केजी तौल समूहमा सुनिल अधिकारीले द्वितीय स्थान हासिल गर्दै रजत पदक जितेका छन् ।
यसैगरी, बक्सिङतर्फ सिद्धिचरण नगरपालिका–५ बर्नालुका शिवराम राईले पुरुष ५० केजी तौल समूहमा तृतीय स्थान हासिल गर्दै कास्य पदक जितेका छन् ।
जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका सदस्य अशेष श्रेष्ठका अनुसार खेलाडीहरूको यो सफलताले जिल्लाको खेलकुद क्षेत्रमा थप उत्साह र सम्भावना देखाएको छ ।
प्रदेशस्तरीय छनोटमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरूले अब दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन् ।







प्रतिक्रिया