व्याकुल माइला गोल्डकपको दसौँ संस्करणको उपाधि ज्वालामुखी युवा समूह मानेभन्ज्याङ हर्कपुरले जितेको छ । मंगलबार भएको फाइनल खेलमा ट्राइब्रेकरमा सप्तरंगी युवा परिवार मानेभन्ज्याङ उबुलाई ४ का विरुद्ध ५ गोल अन्तरले पराजित गर्दै हर्कपुरले उपाधि हासिल गरेको हो ।
यस्तै प्रतियोगितामा मानेभन्ज्याङ युवा समुह र दुधकौशीका आवि सेमिफाइनलिस्ट बनेका छन् ।
प्रतियोगितामा कुल पाँच लाख ६० हजार ६६६ रुपियाँ बराबरको नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । विजेता टोलीले तीन लाख ३३३ रुपियाँ, उपविजेताले एक लाख ५० हजार १११ रुपियाँ तथा सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही ४० हजार १११ रुपियाँ नगद पुरस्कार पाएका छन् । विजेता टोलीलाई सिल्ड, मेडल र प्रमाणपत्र समेत प्रदान गरिनेछ ।
यस्तै, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उदीयमान खेलाडीलाई जनही पाँच हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ । ‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नाराका साथ सञ्चालन भइरहेको प्रतियोगितामा विभिन्न जिल्लाका १८ टोली सहभागी थिए ।
राष्ट्रिय गानका सर्जक प्रदीपकुमार राई ‘व्याकुल माइला’को सम्मानमा आयोजना हुँदै आएको व्याकुल माइला गोल्डकप फुटबल प्रतियोगिताको दसौँ संस्करण सोमबारदेखि सुरु भएको थियो ।
कोजाग्रत पूर्णिमाको अवसरमा व्याकुल माइलाको जन्मथलो ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६, सोक्माटार स्थित दूधकोसी किनारको ब्आलेमबगर खेलमैदानमा प्रतियोगिता भएको थियो ।
स्थानीय प्रतिभावान् खेलाडीलाई अवसर दिने, युवालाई सकारात्मक गतिविधिमा जोड्ने, खेल पर्यटन प्रवद्र्धन गर्ने तथा स्थानीय अर्थतन्त्रमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको मूल आयोजक समितिका संयोजक मिलनकुमार राईले बताए ।
राईका अनुसार प्रतियोगितामार्फत राष्ट्रिय गानका सर्जक व्याकुल माइलाको योगदानलाई नयाँ पुस्तासम्म पु¥याउने प्रयाससमेत गरिएको हो ।
प्रतियोगिताको उद्घाटन कोशी प्रदेश सांसद तथा पूर्व भौतिक पूर्वाधारमन्त्री प्रदीपकुमार सुनुवारले गरेका थिए भने समापनको अवसरमा कांग्रेस सहमहामन्त्री रामहरी खतिवडाले विजेता खेलाडीलाई पुरस्कार हस्तान्तरण गरेका छन् ।
२०६८ सालदेखि व्याकुल माइलाको जन्मथलोमा हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताका लागि यस वर्ष मानेभञ्ज्याङ गाउँपालिकाले १० लाख रुपियाँ बजेट विनियोजन गरेको थियो ।







प्रतिक्रिया