ओखलढुंगा । जिल्ला खेलकुद विकास समितिको उपस्थितिमा सुनकोशी गाउँपालिकाका खेलाडीहरूलाई मेडल वितरण गरिने भएको छ । बिहीबार मानेभञ्ज्याङ गाउँपालिकाको खेल मैदानमा सम्पन्न जिल्लास्तरीय राष्ट्रपति कपको नतिजाप्रति असन्तुष्टि जनाउँदै सुनकोशी गाउँपालिकाले ट्रफी र पुरस्कार बहिष्कार गरेको थियो ।
निर्णायकको निर्णय अनुसार सुनकोशीले ७ स्वर्ण, ८ रजत र ५ कास्य गरी जम्मा २० पदक जित्दै दोस्रो स्थान प्राप्त गरेको थियो । तर, छात्र भलिबलमा पराजित भएपछि चम्पादेवी गाउँपालिकाका खेलाडी सुरेश विकको उमेर मापदण्ड तथा कार्यविधि विपरीत रहेको आरोप लगाउँदै सुनकोशीले उजुरी गरेको थियो ।
उक्त उजुरीपश्चात् शनिबार जिल्ला समन्वय समितिमा भएको छलफलमा समहति भएकाे छ । जिल्ला खेलकुद विकास समितिले आफ्नो तर्फबाट प्राविधिक त्रुटि तथा कमजोरी भएको स्वीकार गरेको छ । समितिले आत्मालोचना गर्दै आम खेल तथा खेलाडीको उच्च मनोबलका लागि आगामी दिनमा यस्ता कमीकमजोरी सुधार गर्ने प्रतिबद्धता जनाएको सुनकोशी गाउँपालिका शिक्षा शाखा प्रमुख विवेक कुमार तामाङले जानकारी दिए ।
खेलाडीहरूको सम्मानका लागि सुनकोशी गाउँपालिकाका खेलाडीले हासिल गरेको ट्रफी, पुरस्कार, मेडल र प्रमाणपत्र सुनकोशी गाउँपालिका, ओखलढुंगाले तोकेको समयमा खेलकुद विकास समितिको उपस्थितिमा वितरण गर्ने सहमति भएको प्रमुख तामाङले बताए । खेलकुद विकास समितिले विज्ञप्ति प्रकाशित गरी उक्त जानकारी सार्वजनिक गरेको छ ।
जिल्ला समन्वय प्रमुख टेकराज भट्टराईको संयोकत्वमा भएको छलफलमा सुनकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राई, शिक्षा शाखा प्रमुख विवेक तामाङ साथै जिल्ला खेलकुद विकास समिति सचिव नेत्रप्रसाद घिमिरे, रेफ्रि संयाेजक प्रविन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
निर्णायकको निर्णय अनुसार विभिन्न खेल विधामा भएको प्रतिस्पर्धापछि सिद्धिचरण नगरपालिकाले ८ स्वर्ण, ४ रजत र १० कांस्यसहित कुल २२ पदक जित्दै प्रथम भएको थियो । मानेभञ्ज्याङ गाउँपालिका ५ स्वर्ण, १ रजत र ४ कांस्यसहित १० पदक जितेर तेस्रो बनेको थियो भने खिजिदेम्बा गाउँपालिका ९ पदकसहित चौथो, लिखु गाउँपालिका १० पदकसहित पाँचौं, मोलुङ चम्पादेवी र चिशंखुगढी गाउँपालिकाले समान ७/७ पदक प्राप्त गरेका थिए ।
जिल्ला खेलकुद विकास समिति ओखलढुंगाको आयोजना र मानेभन्ज्याङ गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न प्रतियोगितामा जिल्लाका आठवटै स्थानीय तहका खेलाडीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया